रचना विरुद्ध पनि प्रशासनमा उजुरी, साढे सात लाख हिनामिना गरेको मिना ढकालको आरोप

मेला रकम अनियमितता भाग : ३


रचना विरुद्ध पनि प्रशासनमा उजुरी, साढे सात लाख हिनामिना गरेको मिना ढकालको आरोप

मेला संयोजक रचना श्रेष्ठ विरुद्ध सह संयोजक मिना सुवेदी ढकालले जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता गराएको उजुरी ।

नेपालगन्ज : घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष तथा मेला संयोजक रचना श्रेष्ठमाथि पनि रकम हिनामिना सहितको उजुरी जिल्ला प्रशासन कार्यालय बाँकेमा परेको छ । महिला उद्यमी समिति तथा मेला सह–संयोजक मिना सुवेदी ढकालले आफ्नै मेला संयोजक श्रेष्ठमाथि रकम हिनामिनाको उजुरी दर्ता गराएकी हुन् ।

यस अघि मेला संयोजक श्रेष्ठ मेला कोषाध्यक्ष तथा आर्थिक समिति संयोजक मोहम्मद वाहाव खाँले सह– संयोजक मिना सुवेदी ढकालले किर्ते गरी २५ लाख भन्दा बढी रकम हिनामिना गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेमा बोधार्थ दिंदै जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता गराई सकेका छन् ।

मेला संयोजक श्रेष्ठ र सह–संयोजक ढकालले मेलाको रकम आफुखुशी खर्च गरेपछि एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका छन् । मेला संयोजक श्रेष्ठ र कोषाध्यक्ष खाँले सह–संयोजक ढकाललाई २५ लाख हिनामिना गरेको लिखित आरोप लगाएका छन्, भने ढकालले श्रेष्ठलाई करिब साढे ७ लाख हिनामिनाको लिखित रुपमा आरोप लगाएकी छन् ।

मेला सह–संयोजक ढकालले जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता गराएको उजुरीमा संयोजक श्रेष्ठले विभिन्न ठाउँबाट रकम लगेको तथ्यांक सहित उल्लेख छ । अतिथि टिकेटबाट ५५ हजार ९ सय, टुवोर्ग वियरबाट ३५ हजार, होटल पार्टनरबाट ५० हजार, पार्किंग व्यवस्थापनबाट १ लाख २० हजार, घरभाडाबाट ७० हजार, ठेकेदारबाट २५ हजार, मिना डाँगीको ठेलीबाट १० हजार, कृषी विकास बैंकबाट ७ हजार, स्वयम् सेवक खर्चबाट ५० हजार, नन्दुसंग ४० हजार र विविध २० हजार रकम संयोजक श्रेष्ठले लगेको उजुरीमा उल्लेख छ ।

‘नगरसमितिको अध्यक्ष तथा मेलाको मुल समितिको संयोजक जस्तो महत्वपूर्ण पदमा बसेको व्यक्तिले आफ्नो जिम्मेवारी वहन नगर्ने, समुहकार्यमा वेवास्ता गर्ने र मेला सम्पन्न भए पश्चात पदिय हिसाबले गर्नु पर्ने हिसाब मिलान लगायतको कार्य नगरी उल्टै आफुबाट भएका गल्तीको ढाकछोप गर्न मेरो उपर उजुरी दिनु भएको हो ।’ सह–संयोजक ढकालले संयोजक श्रेष्ठ विरुद्ध जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको उजुरीमा उल्लेख छ ।

संस्थाको रकम हिनामिना गर्ने श्रेष्ठ माथि नै आवश्यक छानविन गरी कडा भन्दा कडा कारबाहीको ढकालले माग गरेकीछन् । तर, सह–संयोजक ढकालले आफुमाथि संयोजक श्रेष्ठ र कोषाध्यक्ष खाँले २५ लाख हिनामिनाको लगाएको आरोपको भने उजुरीमा कहिं पनि खण्डन गरेकी छैनन् ।

अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष खाँले ढकाल भन्दा अगाडी जिल्ला प्रशासन कार्यालयमा दार्ता गराएको उजुरीमा मेला समितिका सह–संयोजक ढकालले रजिष्टरमा लेखिएको निर्णय र हस्ताक्षर स्क्यान गरी समितिको नाममा विभिन्न बैंकमा छुट्टै खाता खोली चेक जम्मा गरेर रकम निकाली हिनामिना गरेको उल्लेख छ ।

सह–संयोजक ढकालले संयोजक रचना श्रेष्ठको हस्ताक्षरलाई फोटो खिची, स्क्यान गरी गैर कानूनी प्रकृयाले पत्राचार गरी विधान र बैठकको निर्णय विपरित महिला उद्यमी समितिको खाता राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखा र कैलाश विकास बैंकमा छुट्टै खाता खोली प्रायोजकहरुको रकम, सह प्रायोजकको रकम, टिकट र नेपाल सरकारले दिएको रकम उक्त खातामा गैर कानूनी तरिकाले जम्मा गराइ रकम निकालेर हिनामिना गरेको संयोजक श्रेष्ठ र कोषाध्यक्ष खाँ दिएको उजुरीमा उल्लेख छ ।

घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नम्बर ५ बुटवलको संरक्षणमा २०७६ पुष ११ गते देखि २१ गतेसम्म नेपालगन्जमा ‘दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषी प्रविधि व्यापार एंव पर्यटन महोत्सव गरिएको थियो ।’