नेपालगन्ज : अन्तर्राष्ट्रिय बजारमा निकै महत्व साथ बियर दिवस मनाउने गरिन्छ । प्रत्येक वर्ष अगस्त महिनाको पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ । नेपालमा बियर दिवस मनाउने गरेको प्रायः पाइँदैन । तर, पछिल्लो समय बियर दिवसका रुपमा सिमित ब्यक्तिहरु जमघट भइ मनाउने गरेकाछन् ।
विश्वमै मानव इतिहासमा उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने चलन पुरानो हो । र, सबैभन्दा पुरानो पेय पदार्थलाई नमनाउने त कुरै हुँदैन र अन्तर्राष्ट्रिय बियर दिवस पनि त्यही हो । प्राचीन समयभन्दा अहिले बियर बनाउने तरिका फेरिएको छ । बियर होप, जडीबुटी तथा फलफूलको फ्लेभरबाट तयार गरिन्छ । र, बियर बनाउनुलाई कला मानिन्छ ।
अन्तर्राष्ट्रिय बियर दिवस मनाउने सोँच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो । जब जेसी आफ्ना केही साथी बियरको स्वादमा रमाइला गफ गर्दै थिए । उनीहरू क्यालिफोर्नियाको सान्टाक्रुज समुदायमा थिए ।
अन्तर्राष्ट्रिय बियर दिवस मनाउनुका केही कारण यसप्रकार थिए ।
– साथीभाइसँग जमघट र बियरको स्वाद लिने
– बियर बनाउने र सर्भ गर्नेप्रति सम्मान प्रकट गर्ने
– बियरको ब्यानरमुनि विश्व एकता कायम गर्ने
नेपालमा बियरको इतिहास छोटो छ । नेपालमा बियरको इतिहास हेर्ने हो भने पाँच दशक मात्रको ईतिहास छ ।
नेपालमा सन् १९६६ मा पहिलो ब्रुअरी कम्पनी दर्ता भयो । नेपाल ब्रुअरी नाममा दर्ता भएको यो कम्पनीले सन् १९७२ मा नेपालको पहिलो बियर प्रस्तुत गर्यो । स्टार गोल्ड प्रिमियम बियर । हो यही बियर नै नेपालको पहिलो बियर हो ।
त्यसपछि सन् १९८२ हिमालयन ब्रुअरीद्वारा आइसबर्ग र गोल्डेन इगल लेजर प्रस्तुत भयो । तर केही वर्षपछि अर्थात सन् १९८७ गोल्डेन इगल लेजरको उत्पादन बन्द भयो ।
यसपछि सन् १९८९ मा कार्ल्सबर्ग र खेतान समूह मिलेर गोर्खा ब्रुअरीको स्थापना भयो । त्यसको ठिक एक वर्षपछि सन् १९९० मा गोर्खा ब्रुअरीद्वारा टुबोर्ग नेपाली बजारमा ल्यो । साथै माउन्ट एभरेस्ट ब्रुअरीको समेत स्थापना भयो ।
सन् १९९४ मा माउन्ट एभरेस्ट ब्रुअरीद्वारा गोल्डेन टाइगर एक्स्ट्रा स्ट्रङ बियर उत्पादन तथा बिक्री शुरु भयो । नेपालमा बियरप्रति रुची बढेसगैं विस्तारै थप अन्य कम्पनीहरु पनि दर्ता हुन थाले । ती कम्पनीहरुले पनि बियर उत्पादन गर्न थाले ।
सन् १९९५ मा गोर्खा ब्रुअरीद्वारा नेपालीमाझ कार्ल्सबर्ग बियर ल्यायो । साथै सोही समय सगरमाथा ब्रुअरीको समेत स्थापना भयो । यसपछि सन् १९९६ मा सीजीद्वारा थाई बियर ब्राण्ड सिंहा नेपाली बजारमा उपलब्ध गरायो । सन् १९९७ मा सीजीको सब्सिडरी सनगोल्ड ब्रुअरीको स्थापना, रोयल गोल्ड र मुस्ताङ बियर नेपाली बजारमा उपलब्ध भयो ।
यस्तै सन् १९९९ मा माउण्ट एभरेस्ट ब्रुअरीद्वारा ‘गिनिज’ उत्पादन शुरु भयो । यसको ठिक तीन वर्षपछि सन् २००२ मा गोर्खा ब्रुअरीद्वारा रोयल डेनिस टुबोर्ग स्ट्रङ बियर बजारमा ल्यायो ।
यसको ठिक एक वर्ष पछि अर्थात सन् २००३ मा माउण्ट एभरेस्ट ब्रुअरीद्वारा एभरेस्ट लेजर बियर नेपाली बजारमा ल्यायो । त्यसपछि सन् २००४ मा गोर्खा ब्रुअरीलाई सान मिगुअल उत्पादनको अनुमति मिल्यो । सन् २००७ मा नेपाली बजारमा गोर्खा प्रिमियम र सीजीद्वारा नेपाल आइस बियर उपलब्ध गरायो ।
यसपछि सन् २००९ मा युनाइटेड ब्रुअरीद्वारा कोब्लेन्जर उत्पादन तथा बिक्री शुरु भयो नेपाली बजारमा । सन् २०१० मा हिमालयन ब्रुअरीद्वारा कमाण्डो स्ट्रङ बियर लन्च गर्यो ।
यस्तै सन् २०१२ मा टाइगर ब्रुअरीको स्थापना भयो साथै सीजीद्वारा नेपाल आइस नेचुरा नेपाली बजारमा ल्यायो भने कोब्लान्जरको उत्पादन बन्द भयो ।
सन् २०१३ मा गोर्खा स्ट्रङ बियर नेपाली बजारमा आयो । सन् २०१४ मा यति ब्रुअरी र राज ब्रुअरी दर्ता भए । यसको ठिक एक वर्षपछि सन् २०१५ मा शेर्पा ब्रुअरीद्वारा खुम्बु कोल्स र हिमालयन ब्रुअरीद्वारा काठमाडौं ड्राउट नेपाली बजारमा आयो ।
यस्तै सन् २०१७ मा यति ब्रुअरीद्वारा अर्ना ब्राण्ड लन्च गर्यो । यसमा यतिको (अर्ना प्रिमियम, लाइट र स्ट्रङ तीनवटै) बियर रहे । बियरप्रतिको मोह र प्रतिस्प्रधात्मक नेपाली बजारलाई देखेरै सन् २०१८ मा यति ब्रुअरीसँगको सहकार्यमा भारतको युनाइटेडद्वारा नेपाली बजारमा किङफिसर बियर आयो । वार्स्टेनर इन्टरनेसनलद्वारा उत्पादन सुरु, एपोनिमस र नमस्ते बियर समेत नेपाली बजारमा लन्च भयो ।
सन् २०१९ मा राज ब्रुअरीद्वारा स्ट्रङ माउण्टेन आइस बियर लन्च, याक ब्रुअरीको स्थापना र याकद्वारा बाह्रसिंगा बियर नेपाली बजारमा बिक्रिवितरण शुरु भयो ।
नेपालमा बियरको उत्पादन र यसको ईतिहासका बारेमा जानकारी पाइसकेपछि हाल नेपालमा बियर उत्पादन गर्दै आएका कम्पनीहरू यसप्रकार रहेकाछन् ।
नेपाल ब्रुअरी, गोर्खा ब्रुअरी, सीजी (सनगोल्ड) ब्रुअरी, यति ब्रुअरी, माउन्ट एभरेस्ट ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, हिमालय ब्रुअरी, शेर्पा ब्रुअरी र याक ब्रुअरी कम्पनीहरु नै रहेकाछन् ।
यस्तै हाल नेपालमा ५० वटाभन्दा बढी ब्राण्डमा बियर उपलब्ध छन् । यी स्वदेशी उत्पादित बियर मात्रै हुन् । जसमध्ये केही यसप्रकारका छन् ः काल्र्सवर्ग, टुबोर्ग, सान मिगुअल, गोर्खा, एभरेस्ट, खुम्बु कोल्स, वार्स्टेनर, फोस्टर्स लेजर, बाह्रसिंगे, अर्ना, नेपाल आइस र टेन्सवर्ग
यस्तै बियरका पारखीहरु बढ्दै गएपछि नेपाली बजारमा चलेका केही विदेशी ब्राण्डका बियरहरू यसप्रकार रहेका छन् :
बिरा, मेल्भिन, गिनिज, ह्वाइट राइनो, कोरोना, असाही, सिंघा र हाइनिकेन रहेकाछन् ।
यद्यपी कतिपयले बियरलाई रक्सीका रुपमा हेर्ने हुदाँ बियरप्रतिको गलत धारणा बसेकोछ । बियर पिउनु स्वास्थ्यका लागि लाभदायक छ तर, अत्यधिक र यसको मात्राका बारेमा जानकारी नभए स्वास्थ्यसगैं मानव जिवन समेत तहसनहस हुने गर्दछ ।