नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमण भेटिएको ७ महिना पुग्न लाग्दा ७० जनाको मृत्यु हुनुका साथै संक्रमित संख्या २२ हजार २ सय १४ पुगेकोछ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमित संख्या २२ हजार २ सय १४ पुगेको हो ।
देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पीसिआर परीक्षणका क्रममा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
शुक्रबार थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको हो । यस्तै शुक्रबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् ।
यसैबीच नेपालमा हालसम्म ७० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार दिउँसो सवा ४ बजे मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले नेपालमा ७० जना संक्रमितको मृत्यु भएको बताए ।
हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ । हाल १० हजार २ सय ७ जना क्वारेन्टिनमा छन् । शुक्रबारसम्म ७ हजार ९ सय २६ जनाको पीसिआर परीक्षण भएको छ ।
पछिल्लो पटक संक्रमित बढ्दै गएपछि सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला र काठमाडौं उपत्यकाका तीनै जिल्लामा जोरबिजोर प्रणाली लागू गरेको छ । भने यता जिल्ला प्रशासन कार्यालय बाँकेले यसअघि लगाएको निषेधाज्ञाको अवधि तेस्रो पटक थप गर्दै आगामी मङ्गलबार राती १२ बजेसम्मका लागि जारी राखेकाछ ।