नेपालगन्ज : कोरोना भाइरस संक्रमण समुदायमै फैलिएपछि यतिबेला जिल्लामा निषेधाज्ञा लगाइकोछ । कोरोना भाइरस संक्रमणकै कारण जिल्लाका ७ वटा सरकारी कार्यालय सिल भइसकेकाछन् । अझ बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमण तिब्र गतिमा फैलिएपछि बाँके प्रशासनले सिल समेत गरेकोछ ।
यही निषेधाज्ञा र जोखिम क्षेत्र सिलकाबिच बाँकेमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएकोछ । बाँकेमा लगाइएको निषेधाज्ञाको शनिबार (आज) सात दिन पुगेको छ । यसअघि लगाएको निषेधाज्ञा आज राती १२ बजे सकिनुपर्नेमा कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी मङ्गलबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएकोछ ।
तर, आईतबारदेखि लागु गरिएको निषेधाज्ञाको अवधिमा भने कोरोना संक्रमितको संख्या घट्नुको साटो उच्च संख्यामा बढिरहेको छ । यसले बाँके त्यसमा पनि नेपालगन्ज कोरोना भाइरस संक्रमणको हटस्पट बनेको पुष्टि भएकोछ ।
निषेधाज्ञाको सातौं दिन अर्थात आज (शनिबार) भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २२ मध्ये २० जना बाँकेका रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा ३०० वटा नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आजमात्रै बाँकेमा कोहलपुरका चार जना र नेपालगन्जका १६ जनामा कोरोना संक्रमण देखिएको छ भने बर्दियाका बाँसगढी नगरपालिकाका एक जना र गुलरिया नगरपालिकाका एक जना संक्रमित थपिएका छन् । शुक्रबार मात्रै बाँकेमा ४९ जना संक्रमित थपिएका थिए । निषेधाज्ञा जारी गर्दा पनि बाँकेमा दैनिक ठूलो संख्यामा संक्रमित फेला परिरहेका छन् ।
आज फेला परेका संक्रमितहरुमा नेपालगन्ज–६ निवासी ३ वर्षकी बालिका, नेपालगन्ज–१७ निवासी ४ वर्षिया बालक र ५ वर्षकी बालिकामा समेत संक्रमण देखिएको छ । त्यस्तै नेपालगन्ज–१९ निवासी ११ वर्षकी बालिका र नेपालगन्ज–१६ निवासी ११ वर्षकी बालिकामा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै समय बढाइरहेको छ । गत शनिबारदेखि तीन दिनका लागि लागेको निषेधाज्ञा दोस्रो पटक चार दिन बढाएर शनिबारसम्म पुर्याइएको थियो । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप तीन दिन थपेर मंगलबारसम्म बढाएको छ । अझ यही निषेधाज्ञाकै बीच नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न क्षेत्रलाई सिल समेत गरिएकोछ ।