नेपालगन्जका सिल एरियमा सेनाको निगरानी


नेपालगन्जका सिल एरियमा सेनाको निगरानी

नेपालगन्ज : कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि यसको नियन्त्रणका लागि बाँके प्रशासनले नेपालगन्ज सिल गरेकोछ । नेपालगन्जमा कोरोना भाइरस बढि देखिएको क्षेत्रलाई पहिचान गरि उक्त क्षेत्र तीन दिनका लागि सिल गरिएको हो । कोरोना भाइरस संक्रमणको अति जोखिम रहेका ती क्षेत्रलाई चारकिल्लामा राखेर सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकोछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज (शनिबार) राती १२ बजेदेखि मङ्गलबार राती १२ बजेसम्मका लागि लागु हुने गरि सिल गरिएको क्षेत्रका सडकमा समेत हिडडुँल गर्न पाइने छैन । कोरोना भाइरस संक्रमण र आम सर्वसाधरणको जिवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको हो ।

बाँके प्रशासनले सिल गरेको उक्त क्षेत्रमा भने नेपाली सेनाले निगरानी गर्नेछ । नेपाली सेनाको टोलीले सिल गरिएको उक्त क्षेत्रमा २४ घण्टा उच्च निगरानी गर्नेछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले भने–‘निषेधाज्ञा गरिएपनि आम सर्वसाधरणको उपस्थित यथावत रह्यो । कोरोना संक्रमण बढ्दै गएपछि स्थिती नियन्त्रण र आम नागरिकको जिवन रक्षाका लागि सिल गरिएको हो ।’ उनले अगाडी थपे–‘कोरोना भाइरसको यो महामारीमा आम नागरिकले सजगता र बुद्धि नपु¥याउँदा अवस्था जटिल बन्छ । बिना काम घरदेखि बाहिर ननिस्कौं । सामाजिक दूरी र मास्क अनिवार्य लगाऔं ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले भने–‘नेपालगन्ज सिल र निषेधाज्ञा विरुद्ध जाने जोकाहीलाई तत्तकाल पक्राउ गरि कारबाही गरिनेछ ।’ उनले थपे –‘यी निर्णयको अवेज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने ब्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेछ ।’

यद्यपी नेपालगन्ज उपमहानगरपालिकाको रत्नराजमार्गदेखि पूर्वी क्षेत्रमा रहेका सिल गरिएको एरियामा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाईएको छ । साथै हिडँडुल तथा ब्यवसाय सञ्चालनमा समेत पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।