भेरी अस्पतालको प्रसुती वार्ड सिल


भेरी अस्पतालको प्रसुती वार्ड सिल

File Photo

नेपालगन्ज : नेपालगन्ज स्थित भेरी अस्पतालको प्रसुती वार्ड सिल गरिएकोछ । अस्पताल आएकी एक गर्भवती महिलामा कोरोना पुष्टि भएपछि प्रसुती वार्ड सिल गरिएको हो ।

रुकुम चौरजहारी निवासी ती महिला बुधवार भेरी अस्पताल डेलिभरीका लागि भर्ना भएकी थिइन । गर्भवती महिलाको महिना पुगिसकेकाले बिहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो । तर, शल्यक्रियाका बेला उनलाई एक्कासी ज्वोरो आएपछि उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएकोछ ।

‘शल्यक्रियाको तयारी भइरहेका बेला उनलाई एक्कासी ज्वरो आयो, शंका लागेर कोरोना परीक्षणका लागि बिहीबार लिइएको स्वाबको रिपोर्ट आज शनिवार पोजेटिभ आएको हो ।’ भेरी अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डाक्टर थापाले भने –‘यतिबेला उनलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लैजाने तयारी भइरहेको छ ।’

गर्भवती महिलामा कोरोना देखिएपछि यतिबेला भेरी अस्पतालको प्रसुति वार्ड सिल गरेर आउजाउ बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डाक्टर थापाले भने –‘उक्त वार्डलाई सेनिटाइज गर्ने तयारी भइरहेको छ ।’

बाँकेको कोहलपुर स्थित नेपालगन्ज शिक्षण अस्पताल कोभिड–१९ को ३ लेभलको अस्पताल हो । कोरोना भाइरस संक्रमित जटिल खालका विरामीहरुको त्यही उपचार हुने गरेको छ । उक्त अस्पतालले यसअघि कोरोना संक्रमित तीन जनाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको छ ।