कोरोना रिपोर्ट नेगेटिभ आएसगैं खुल्यो ईप्रका कोहलपुर


कोरोना रिपोर्ट नेगेटिभ आएसगैं खुल्यो ईप्रका कोहलपुर

नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुर पुनः सञ्चालनमा आएकोछ । एक थुनुवालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि सिल गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुर शनिबार बेलुकाबाट पुनः सञ्चालनमा आएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमकाबीच थुनुवालाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङ्गमार्फत ईलाका प्रहरी कार्यालय कोहलपुरमा रहेका थुनुवा र प्रहरीको स्वाब संकलन गरि परीक्षण गरिएको थियो । उक्त परीक्षणको नतिजा आज शनिबार नेगेटिभ आएपछि सिल गरिएको कार्यालय पुनः सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

गत श्रावण २० गते ईप्रका कोहलपुरका एक थुनुवालाई कोरोना संक्रमण देखिएपछि २१ गते कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा प्रहरी, थुनुवा र अन्य स्थानीय गरी १०० जनाको स्वाव संकलन गरिएको थियो ।

जसमध्ये एक प्रहरी र एक थुनुवामा बाहेक अन्य ९८ जनाको रिपोर्ट नेगेटिभ आएको कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख डिल्ली पोखरेलले बताए । शनिबार आएको रिपोर्टमा संक्रमण देखिएका प्रहरी दाङमा कार्यरत रहँदै आएका थिए । कोहलपुर आएको समयमा कोरोना परीक्षण गराएका ती प्रहरीमा संक्रमण देखिएको उनले बताए । संक्रमण देखिएका दुबैलाई शनिबार नै आईसोलेशन सेन्टरमा राखिएकोछ ।