नेपालगन्ज : कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया भएकोछ । भेरी अस्पताल नेपालगन्जमा प्रसुतीका लागि आएकी रुकुम चौरजहारीकी ती महिलामा कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि हिजो (शनिबार) नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।
यसअघि भेरी अस्पताल नेपालगन्जमा बिहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भइरहेका बेला अचानक ज्वरो आएपछि उनको स्वाब परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको थियो ।
रुकुम चौरझारीकी २८ वर्षिया गर्भवती महिला आशा चौधरीको डेलिभरी मिति पुगेकोले हिजो शनिबार नै कोहलपुर लगि सुरक्षित रुपमा सफल शल्यक्रिया गरेर बच्चा निकालिएको हो ।
शनिवार राती ९ बजेर ३५ मिनेटमा शल्यक्रिया गरेर बच्चा निकालिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक निर्देशक डाक्टर नितेश कनोडियाले बताए । उनका अनुसार कोरोना संक्रमित महिलाले शिशु (छोरा) जन्माएकी छन् । शिशुको तौल दुई किलो सात सय ग्राम रहेको अस्पतालले जनाएको छ । यद्यपी आमाको स्वास्थ्य अवस्था सामान्य रहेपनि शिशुको अवस्था जटिल रहेकाले आइसियुमा राखिएको डाक्टर कनोडियाले बताए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर कोभिड–१९ लेभल ३ को अस्पताल हो । अस्पतालले योसहित तीनजना गर्भवतीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । अछाम, कपिलबस्तु र रुकुमकी गर्भवतीको सफल शल्यक्रिया गरेको हो ।