नेपालगन्ज : हालसम्म देशभर रहेका संक्रमितमध्ये १० वर्ष मुनिका ९ सयभन्दा बढी बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ९ सय ७२ जना कोरोना संक्रमितमध्ये ९ सय १३ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो । तीमध्ये ३ सय ५८ जना बालिका रहेका छन् भने ५ सय ५५ बालक रहेको मन्त्रालयले जनाएको छ ।
यी कुल संक्रमित बालबालिका मध्ये बाँकेमा १० वर्षमुनिका १६ जना बालबालिकामा कोरोना पुष्टि भएकोछ । जसमा ८ बालक र ८ बालिका रहेका छन् ।
यस्तै मन्त्रालयको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४ सय ४० जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन् । त्यस्तै प्रदेश १ मा ३१, प्रदेश २ मा १ सय ७२, बाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ३६, प्रदेश ५ मा १ सय २४ र कर्णाली प्रदेशमा ७४ जना बालबालिका संक्रमित भएका छन् ।
यी जिल्लामा १० वर्षमुनिका कोरोना संक्रमित बालबालिका छैनन
मन्त्रालयको तथ्यांक अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु ,ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, दोलखा, रसुवा, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, मनाङ, मुस्ताङ, कास्की, रुकुम पूर्व, डोल्पा र हुम्ला गरी २३ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन ।