बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको फेसबुकबाट ।
नेपालगन्ज : नेपाली सेनाले मृत्युपछि कोरोना पुष्टि भएकी बृद्धाको सकुसल अन्त्येष्टि गरेकोछ । बाँके कोहलपुर नगरपालिका–२, की ७० वर्षिया बृद्धाको आईतबार राती अन्त्यष्टि गरिएको हो ।
उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर मृत्यु भएकी महिलाको नेपाली सेना भैरवप्रसाद गणको टोलीले सम्मानका साथ अन्तिम संस्कार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
मृतक महिलाको छातीमा इन्फेक्सन हुनुका साथै निमोनियाबाट ग्रस्त थिइन् । उनलाई २३ साउनमा अस्पताल ल्याइएको थियो । कोरोनाका शंका लागेपछि अस्पतालले सोही दिन स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पतालको पीसिआर ल्याबमा पठाएको थियो ।
उनको मृत्यु पछिमात्रै कोरोना पुष्टि भएको शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले बताए । योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका एक पुरुष तथा बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेको छ ।