नेपालगन्ज : कोरोना भाइरस संक्रमण समुदायमै फैलिएपछि लगाइएको सिल हटाइदैछ । गत साउन २४ गते शनिबार राती १२ बजेदेखि तीन दिनका लागि नेपालगन्ज–कोहलपुर सडकखण्डको पूर्वी क्षेत्रलाई सिल गरिएको थियो ।
यसअघि सिल गरिएको अवधि आज मङ्गलबार राती १२ बजे सकिदैछ । तर, सिल एरियामै कोरोना संक्रमित बढ्दैजाँदा नेपालगन्जको सिल हटाइन लागेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भोली बुधबारदेखि लागुहुने गरि नेपालगन्जको सिल हटाउने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि यसको नियन्त्रणका लागि बाँके प्रशासनले नेपालगन्ज सिल गरेको थियो । नेपालगन्जमा कोरोना भाइरस बढि देखिएको क्षेत्रलाई पहिचान गरि यसअघि उक्त क्षेत्र तीन दिनका लागि सिल गरिएको थियो । कोरोना भाइरस संक्रमणको अति जोखिम रहेका ती क्षेत्रलाई चारकिल्लामा राखेर सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकोछ ।
बाँके प्रशासनले सिल गरिएको क्षेत्रमा नेपाली सेना सहित, सशस्त्र प्रहरी र जनपद प्रहरी २४ सै घण्टा खटाएकोछ । सेना सडकमा आएपछि सिल गरिएको क्षेत्रका सडक सुनसान थिए ।
यसैबीच, बाँकेमा लगाइएको निषेधाज्ञा फेरि तीन दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बाँकेमा निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।
गत साउन १७ गते मध्यरातबाट लागु हुने गरी तीन दिनका लागि लगाइएको निषेधाज्ञा तेस्रो पटक फेरि ३० गते शुक्रबार मध्यरातसम्मका लागि थपिएको छ । तर, यो अवधिमा कोरोना संक्रमितको संख्या घट्नुको साटो उच्च संख्यामा बढिरहेको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञामा कडाई गर्दै समय बढाइरहेको छ । तर, संक्रमितको बृद्धिदर भने उच्चरुपमा बढिरहेको छ । संक्रमितको संख्या दैनिकरुपमा थपिँदै जान थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञालाई थप तीन दिन थपेर ३० गते शुक्रबारसम्म बढाइएको हो ।
निषेधाज्ञा लम्बिरहेको छ, तर, कोरोना संक्रमणको ग्राफ दिनहुँ उकालो लागिरहेको छ । जिल्लामा ठूलो संख्यामा संक्रमित फेला पर्न थालेपछि निषेधाज्ञामा थप कडाई गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिए ।
समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब संकलन र परीक्षणको दायरा बढाउन निषेधाज्ञा लम्ब्याइएको प्रजिअ कुरुम्वाङ्गले बताए ।
कोरोना भाइरस संक्रमणका कारण जिल्ला अदालत कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, वडा प्रहरी कार्यालय नेपालगन्ज, आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालय सिल गरिएको छ ।