नेपालगन्ज : समुदायमा कोरोना भाइरस संक्रमण फैलिएपछि बाँके प्रशासनले राती ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुललमा रोक लगाएकोछ ।
बाँके प्रशासनले कोरोना भाइरस संक्रमण र यसले समुदायमा पारेको असरलाई मध्यनजर गर्दै सर्वसाधरणको गतिविधि नियन्त्रणका लागि नयाँ अभ्यास थालेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गर्दै अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्लामा राती ९ बजेदेखि ५ बजेसम्म आम नागरिकलाई हिडडँुल गर्न प्रतिबन्ध लगाएको छ ।
हामीले यो निर्णय आम सर्वसाधरणलाई अप्ठ्यारोमा पार्नका लागि भन्दा पनि उहाँहरुकै हितका लागि गरेका हौं । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले भने–‘कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि प्रशासनले सक्दो प्रयास गरिरहेकोछ । जोखिम हाम्रै घरआँगनमा छ । अब पनि हामीले स्वास्थ्य सजगता र सावधानी अपनाएनौं भने तपाई हामी कोरोना भाइरस संक्रमणको सिकार हुनेछौं ।’
कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले अपनाएको मापदण्डलाई पूर्णरुपमा पालना गरि घरमै बसौं । अत्यावश्यक काम बाहेक घरदेखि बाहिर नजाऔं प्रजिअ कुरुम्वाङ्गले भने–‘प्रशासनले तोकेको र निर्णय विरुद्ध जाने जोकोहीलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेछ ।’
कोरोनाको बढ्दो संक्रमण सगैं जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेपछि नेपालगन्जको जनजिवन पछिल्लो हप्तादेखि अस्तब्यस्त बनेको थियो ।
प्रशासनले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि यसअघि संक्रमण देखिएको क्षेत्र पहिचान गर्दै सिल समेत गरेको थियो ।
हालसम्म बाँकेका जिल्ला अदालत बाँके, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज आन्तरिक राजश्व कार्यालय, नेपालगन्ज वडा प्रहरी कार्यालय र यातायात कार्यालयका कर्मचारी, जनप्रतिनिधीमा कोरोना भाइरस संक्रमण देखिएपछि सिल गरिएकोछ ।