साउन ३१ गते शनिबारदेखि सवारीसाधनमा जोरबिजोर


साउन ३१ गते शनिबारदेखि सवारीसाधनमा जोरबिजोर

File Photo

नेपालगन्ज : निषेधाज्ञासगैं बन्द भएका बाँकेका सवारी साधन पुनः सञ्चालनमा आउने भएकाछन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

केन्द्रको बैठकबाट आम सर्वसाधरणको जनजिवन सहज बनाउन आगामी साउन ३१ गतेदेखि जिल्ला भित्र निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु गरिनेछ ।

निजि तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएसगैं आम सर्वसाधरणलाई सहजता हुने बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए ।

कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले अपनाएको मापदण्डलाई पूर्णरुपमा पालना गरि निजि तथा सार्वजनिक सवारी साधन चल्न अनुमति दिइएको हो उनले भने प्रशासनले तोकेको मापदण्ड र निर्णय विरुद्ध जाने जोकोहीलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेछ ।

कोरोनाको बढ्दो संक्रमण सगैं जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेपछि नेपालगन्जको जनजिवन पछिल्लो हप्तादेखि अस्तब्यस्त बनेको थियो ।

प्रशासनले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि सर्वसाधरणलाई विना काम घरबाहिर ननिस्कन आग्रह गरेतापनि सडक, पसल तथा चोक चौराहमा आम जनताको ठूलो भिड लाग्ने गरेकोछ ।

जिल्लामा कोरोना भाइरस समुदायमै फैलिएपछि यसअघि स्थानीय प्रशासनले नेपालगन्जका कोरोना जोखिम भेटिएका क्षेत्र पहिचान गरि सिल गरेको थियो । उक्त क्षेत्रहरु बाँके प्रशासनले आज (बुधबार) देखि खोलेकोछ ।