File Photo
नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले भोली शनिबारदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएकोछ । योसगैं निषेधाज्ञाका कारण बन्द भएका बाँकेका निजि तथा सार्वजनिक सवारी साधन पुनः सञ्चालनमा आउने भएकाछन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
केन्द्रको बैठकबाट आम सर्वसाधरणको जनजिवन सहज बनाउन भोली साउन ३१ गते शनिबारदेखि जिल्ला भित्र निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु गरिदैछ ।
निजि तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएसगैं आम सर्वसाधरणलाई सहजता हुने बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले सेतोखरीलाई बताए ।
कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले अपनाएको मापदण्डलाई पूर्णरुपमा पालना गरि निजि तथा सार्वजनिक सवारी साधन चल्न अनुमति दिइएको हो उनले भने प्रशासनले तोकेको मापदण्ड र निर्णय विरुद्ध जाने जोकोहीलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेछ ।
कोरोनाको बढ्दो संक्रमणसगैं जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेपछि नेपालगन्जको जनजिवन पछिल्लो हप्तादेखि अस्तब्यस्त बनेको थियो ।
प्रशासनले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि सर्वसाधरणलाई विना काम घरबाहिर ननिस्कन आग्रह गरेतापनि सडक, पसल तथा चोक चौराहमा आम जनताको ठूलो भिड लाग्ने गरेकोछ ।
जिल्लामा कोरोना भाइरस समुदायमै फैलिएपछि यसअघि स्थानीय प्रशासनले नेपालगन्जका कोरोना जोखिम भेटिएका क्षेत्र पहिचान गरि सिल गरेको थियो । उक्त क्षेत्रहरु बाँके प्रशासनले बुधबारदेखि खोलेकोछ ।