प्रतिकात्मक तस्विर
नेपालगन्ज : नेपालगन्ज न्यूरोडमा रहेको न्यू ईन्द्रेणी होटललाई ‘सेल्फ पेड आइसोलेसन’ बनाइएकोछ । कोरोना भाइरस संक्रमित संख्या दिनानुदिन बढ्दै गएपछि आइसोलेसन र क्वारेन्टिनको अभाव भएपछि न्यू इन्द्रेणी होटललाई सेल्फ पेड आइसोलेसन बनाइएको हो ।
आम सर्वसाधरणलाई न्यूनतम शुल्कमा सेवा प्रदान गर्न होटललाई आइसोलेसनमा रुपान्तरण गरिएको होटलका प्रोप्राइटर घनश्याम थापा बताउँछन् । उनले भने– जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य कार्यालय नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा आफै खर्च ब्यहोर्नेहरुका लागि मैले होटललाई आइसोलेसनमा रुपान्तरण गरेको हुँ ।’
आइसोलेसनका लागि होटल व्यवस्थापनका सबै काम सकिएकोछ । आजबाट नेपालगन्जको न्यूरोड स्थित न्यू इन्द्रेणी होटलमा बनाइएको आइसोलेसन कोरोना भाइरस संक्रमितका लागि खुला गरिएकोछ ।’ यसका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, स्वास्थ्य कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरिएको होटलका प्रोप्राइटर थापाले बताए ।
आजबाट सञ्चालनमा आएको यो आइसोलेसनमा बसेका विरामीको स्वास्थ्य सेवा र सुरक्षा जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेमार्फत व्यवस्थापन गरिनेछ । भने आइसोलेसनमा बस्दा खाना र बासको खर्च स्वयम विरामीले तिर्नुपर्ने हुन्छ ।
आईसोलेसन बनाइएको होटलले एक ब्यक्तिको एक दिनको खानानास्ता र बासको दरभाउ समेत तोकेको छ । प्रतिदिन फ्यानसहितको सामान्य सिंगल कोठामा एकजनाका लागि १३०० रुपैयाँ निर्धारण गरिएको छ । जहाँ विरामीले विहानबेलुकाको खाना र दिनमा एक पटक नास्ता खान पाउनेछन् ।
यस्तै प्रतिदिन फ्यानसहितको सामान्य डबल कोठामा दुईजनाका लागि २५०० रुपैयाँ निर्धारण गरिएकोछ । जहाँ विरामी दुवैजनाले विहानबेलुकाको खाना दिनमा एकपटक नास्ता खान पाउने छन् ।
यसैगरी प्रतिदिन एसीसहितको सिंगल कोठामा एकजनाका लागि २००० रुपैयाँ निर्धारण गरिएको छ । जहाँ विरामीले विहानबेलुकाको खाना र एकपटक नास्ता खान पाउनेछन् ।
यस्तै प्रतिदिन एसीसहितको डबल कोठामा दुईजनाका लागि ३५०० रुपैयाँ निर्धारण गरिएकोछ । जहाँ विरामी दुवैजनाले विहानसाँझको खाना र दिनमा एकपटक नास्ता खान पाउने ब्यवस्थान गरिएकोछ ।
यसका अतिरिक्त विरामीले माग गरेबमोजिमको सेवा र सुविधा उपलब्ध गराइनेछ । सो बापत न्यूनतम शुल्क लिने न्यू ईन्द्रेणी होटलका प्रोप्राइटर थापाले सेतोखरीलाई जानकारी दिए ।
उनले भने कोरोना भाइरस संक्रमित संख्या बढिरहेका बेला आम सर्वसाधरणहरुले पनि न्यूनतम शूल्क तिरेर स्तरीय आइसोलेसनमा बस्न सकुन भनेर होटललाई आइसोलेसन बनाएको हो ।
यसअघि जिल्लामा वीरेन्द्रचोक नजिक सिटी प्यालेस होटल सेल्फ पेड आइसोलेसनको रुपमा सञ्चालनमा रहेको छ । यद्यपी स्थानीय तह तथा जिल्लाबाट आफै सञ्चालन गरिएका आइसोलेसन अस्पताल तथा सेन्टरमा बसेका विरामीले कुनैपनि शुल्क तिर्नु पर्दैन । उक्त आइसोलेसन तथा सेन्टरको सबै खर्च सरकारले नै ब्यहोर्ने गरेकोछ ।