बिद्युत प्राधिकरणको वार्षिकोत्सवमा सरसफाइ तथा वृक्षारोपन


बिद्युत प्राधिकरणको वार्षिकोत्सवमा सरसफाइ तथा वृक्षारोपन

नेपालगन्ज : नेपाल विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर वितरण केन्द्रले सोमबार सरसफाइ तथा वृक्षारोपण गरेको छ।

कोरोनाको बढ्दो संक्रमणको जोखिमका बखत नेपाल विद्युत प्राधिकरणले भीडभाड हुने औपचारिक कार्यक्रम नगर्ने जनाएपछि मातहतका कार्यालयहरुले विभिन्न रचनात्मक गतिविधि गर्दै आफ्नो वार्षिकोत्सव मनाइ रहेका छन् । त्यसैक्रममा कोहलपुर वितरण केन्द्रले आफ्नो कर्मचारीहरुको सहभागितामा कार्यालय परिसरभित्र सरसफाइ तथा वृक्षारोपण गरेको हो ।

वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीले परिसरमा वृक्षरोपणको शुभारम्भ गरे । सो क्रममा कर्मचारीहरुले मोरिङ्गा जातिका विरुवाका बेर्नाहरु लगाएका थिए । कार्यरत कर्मचारीहरुको सक्रियतामा परिसर सरसफाइ तथा फोहोर व्यवस्थापन गरिएको थियो ।

कोरोनाको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै अन्य कार्यक्रम नगरि पर्यावरण समेतलाई फाइदा हुने सानो प्रयास गरिएको वितरण केन्द्रका प्रशासन प्रमुख जीतबहादुर चौधरीले बताए ।

सोही अवसरमा आजै साँझ कार्यालयमा दीपप्रज्वलन गरिएको प्रशासन प्रमुख चौधरीले बनाए । २०४२ साल भाद्र १ गते नेपाल विद्युत प्राधिकरणको रुपमा स्थापना भएको यो संस्थाले विद्युत उत्पादन, प्रशारण र वितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा ८ अर्ब ८९ करोड खुद घाटा बेहोरेको प्राधिकरणले त्यसयता लगातार नाफा गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा करिव ११ अर्ब खुद नाफा गरि देशकै सबैभन्दा बढी नाफा गरेको सार्वजनिक संस्थान बन्न सफल भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।