तीन सातापछि अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा न्युन वृद्धि


तीन सातापछि अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा न्युन वृद्धि

सिड्नी :अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्यामा तीन साता यताकै न्युन वृद्धि देखिएको त्यहाँका अधिकारीले बताएका छन् । उनीहरूले कोरोना महामारीको दोश्रो चरण नियन्त्रणमा रहेको आशा व्यक्त गरेका छन् ।

पछिल्लो समय कोरोनाको हटस्पट बनेको भिक्टोरिया राज्यमा दुई सय ७८ दैनिक संक्रमित भेटिएका छन् जबकी एक दिनअगाडि मात्रै चार सय १० नयाँ संक्रमित थपिएका थिए । तीन सातायता दैनिक भेटिएको यो सबैभन्दा कम संख्या हो ।

मेलबर्नमा गएको २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । भिक्टोरियामा बुधबार २१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित बढेपछि हालै मेलबर्नमा गत साता कफ्र्यु लगाइएको थियो र मानिसको दैनिक गतिविधिलाई नियन्त्रण गरिएको थियो ।

न्यु साउथ वेल्सले विगत केही सातादेखि दैनिकरूपमा नयाँ संक्रमित भेटिन थालेपछि सर्तकता बढाएको छ । त्यहाँका अधिकारीहरूले मानिसहरूलाई सामाजिक दुरी कायम गर्न भनेका छन्, यदि त्यसो नगरे महामारी नियन्त्रणबाहिर जान सक्ने चेतावनी उनीहरूले दिएका छन् ।

अष्ट्रेलियाको अन्य राज्यहरूमा भाइरस प्रभावकारी रुपमा नियन्त्रण भएको बताइएको छ । त्यहाँ महामारी सुरु भएयता २२ हजार मानिस संक्रमित भएका छन् भने तीन सय ५२ को मृत्यु भएको छ । -सेतोपाटीबाट