नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० गायत्री नगर र नयाँबस्ती क्षेत्रभित्र रहेका सुकुम्बासी, एकल महिला, फरक क्षमता र अति विपन्न परिवारलाई राहत उपलब्ध गराइएको छ ।
नोबेल कोराना भाइरसका कारण पाँच महिनादेखि बन्दाबन्दी अवस्था कायम रहीरहेको अवस्थामा विशेष गरी दुई छाक भोजनको जोहो गर्न समेत मुस्किल भइरहका यी परिवारको विवरण संकलन गरेर राहत उपलब्ध गराइएको हो ।
हाल अष्ट्रेलियामा रहेका डिला आना श्रेष्ठ र सुवास श्रेष्ठले ती परिवारका लागि राहत पठाएका हुन् । श्रेष्ठद्वयले नेपालगन्जमा रहेका यी परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ एक लाख ५० हजार नेपाली रुपैयाँ पठाएका हुन् ।
उनीहरुले पठाएको रकमबाट राहत प्रदान गर्न नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयले समन्वयको भूमिका खेलेको थियो । नेवा साइक्लिङ्ग भृकुटीनगरको आयोजनामा बुधबार एक कार्यक्रमकाबिच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० घरधुरीलाई राहत वितरण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा तथा वडा नम्बर २० का वडाअध्यक्ष कृष्ण कार्कीद्वारा उक्त सामान उनीहरुलाई प्रदान गरिएको थियो ।
प्रतिघरधुरी २० केजी चामल, एक–एक केजी नुन, तेल र सोयाविन प्रदान गरिएको नेवा साइक्लिङ्गका सदस्य निरञ्जनराज भण्डारीले सेतोखरीलाई जानकारी दिए ।
उनले भने–अष्ट्रेलियामा रहदै आएका श्रेष्ठद्वयद्वारा उपलब्ध गराइएको एक लाख ५० हजार रकमबाट खाद्यान्न सामाग्री खरिद गरि वितरण गरिएको हो । सोक्रममा अपुग रकम साथीभाइसंग समन्वय गरि थपिएको जानकारी दिए ।’ राहत वितरण कार्यक्रमलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी टेकबहादुर पुनले समन्वय गरेका थिए ।