कोरोनाकाबीच सप्तऋषिको पूजा गरि देशभर ऋषि पञ्चमी मनाइदै


कोरोनाकाबीच सप्तऋषिको पूजा गरि देशभर ऋषि पञ्चमी मनाइदै

नेपालगन्ज : कोरोना कहरकाबीच आज हरितालिका तीजको अन्तिम दिन ऋषि पञ्चमी देशभर सप्तऋषिको पूजा गरी मनाइँदै छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलन छ ।

सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटी भएको भए त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । यही विश्वासका साथ महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राचार्य डाक्टर रामचन्द्र गौतम बताउँछन् ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । ऋषिपञ्चमीका दिन बाँकेको नेपालगन्ज स्थित बागेश्वरी मन्दिर, राप्ती नदि, काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डका कारण मन्दिरमा गएर पूजा गर्न रोक लगाइएको छ । घरमै स्नान गर्न पूजापाठ गर्न सरकारले सबैलाई अनुरोध गरेको छ ।

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको छ ।