थारुसमुदायमा अट्वारीको रौनक

चेलिबेटिसगं सम्बन्ध जोड्दै ‘अट्वारी’


चेलिबेटिसगं सम्बन्ध जोड्दै ‘अट्वारी’

नेपालगन्ज : पश्चिम नेपालको तराई र भित्रि मधेसका थारुले आज अट्वारी पर्व धुमधामसँग मनाउँदैछन् । दाजु र बहिनी, भाई र दिदीको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रुपमा यो पर्वलाई लिइन्छ । यो पर्वमा दाजुभाईले विवाहित दिदिबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्य जस्तै मानिन्छ ।

सवै पर्वको आ–आफ्नो महत्व हुन्छ । हिन्दु धर्मावलम्बीले मान्ने प्रायःजसो पर्व भगवानसँग जोडिएका छन् । हरेक पर्वको विशेषता, महत्व फरक–फरक छ । त्यसैमा पनि थारु समुदायको आफ्नै परम्परागत चाल चलन छन् । आफ्नै संस्कार, आफ्नै मौलिक भेषभुषा, संस्कृति र चालचलन पनि छुट्टै छ । थारु समुदाय प्रकृतिको पूजा गर्छन् ।

धेरैजसो समय खेतीपातीम ब्यस्त रहने भएकोले थकान मेटाउनका लागि काम सक्ने वित्तिकै माछा, मासु खाने र नाचगान गरि रमाइलो गर्छन् । त्यसैले बाह्रै महिना थारु समुदायको कुनै न कुनै पर्व पर्ने गर्दछ ।

दाङका थारुले कृष्ण जन्माष्टमीपछि अट्वारी मनाउँछन् । यो चलन दाङबाट बसाईसराई गरि बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतमा बसोबास गरिरहेका थारु समुदायमा पनि विद्यमान छ । थारु जाती ‘माघी’ र दशैँपछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई थारु समुदायले दुई दिनसम मनाउँछन् ।

कृष्ण जन्माष्टमीको दुई हप्ता पछि अर्थात कुशे औँसीको केहि दिन पछि र हरितालिका तीजको अघिपछि पर्ने आईतवार मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो । पश्चिम नेपालका भित्रि मधेस र तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु जातीले यो पर्व उल्लासमय वातावरणमा मनाउने गर्दछन् ।

भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारी ब्रत बसेकाहरु पूजा गर्दै । फोटो स्क्रेचः मिथु चौधरी

‘अट्वारी’ पर्वमा थारु समुदायका प्रायः पुरुष मात्र ब्रत बस्छन् । पुरुषहरु भालेले डाँको छोड्नु भन्दा पहिले दर खान्छन् । यसलाई थारु समुदायले ‘भिन्स¥या’ भन्दछन् । ब्रत बस्ने पुरुषहरु निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् । यो आगो मुखले फुक्न मिल्दैन । मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ । ‘गन्यारी काठबाट निकालिएको आगो मुखले फुकेमा अशुद्ध मानिन्छ र फेरि अर्को आगो निकालेर रोटी पकाउनु पर्छ,’ थारु गुर्वा मोहनलाल चौधरीले भने ।

‘अट्वारी’ मनइना चलन थारु जाती संगठित भई बस्न थालेदेखि नै मनाउन शुरु भएको मानिन्छ । यो पर्वसँग ऐतिहासिक घटना जोडिएको छ । पाँच पाण्डव र द्रोपती सबैजना सुर्खेतको काँक्रेबिहार घुम्न गएको बेला दाङ्गका थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खवर सुन्ने वित्तिकै तावामा पकाउन राखेको रोटी छोडेर भीम (भ्यावाँ) दंगीशरणको पक्षमा लडाइँ गर्न दाङ आएको र शत्रुलाई पराजित गरेको किवदन्ती छ ।

त्यसैले भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारीमा एकतर्फ मात्र पकाएको रोटी भीमलाई पूजा गर्दछन् । यहि मान्यतालाई विश्वास गरि थारु समुदायले भीम जस्तो बलियो हुन पाउँ भनि ‘अट्वारी’ पर्व मनाउन थालेको थारु संस्कृतिका अन्वेषक अशोश चौधरी बताउँछन् ।
थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेला भीमको सहयोगमा आईतवारका दिन विजय प्राप्त गरेको मान्यता अनुसार थारु समुदायले भीमका नाममा आईतवारका दिन ‘अट्वारी’ पर्व मनाउन थालेको उनले बताए । सधैँ काममा ब्यस्त रहने परिश्रमी थारु समुदायका पुरुषहरु भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारीमा भीमको नाममा निराहार ब्रत बस्ने र पूजा गर्छन्,’ उनले भने ।

अट्वारीमा के के गरिन्छ ?

अट्वारीको अघिल्लो रात भालेले डाँको छोड्नु भन्दा पहिले दर खाइन्छ । दर खाएका पुरुष दिनभर निराहार ब्रत बस्छन् । र, दिउँसो नुहाएर बैठक कोठा लिपपोत गरि काठबाट निकालिएको आगोमा रोटी पकाउँछन् । सबैभन्दा पहिले भीमका लागि एकतर्फ पकाइन्छ । उक्त रोटीलाई ‘भेवाँ’ के रोटी भनिन्छ । भीमको लागि रोटी पकाई सकेपछि मात्र अरु रोटी पकाउने चलन छ । थारु सँस्कृतिमा दख्खल दिने पत्रकार विश्वराज पछल्डग्ङयालेबताए ।

उनले भने–‘एकतर्फ मात्र पकाएको रोटी भीमलाई चढाइन्छ भने अरु रोटी अन्य देवीदेवता र आफ्ना चेलीबेटीलाई उपहार स्वरुप दिइन्छ ।’
‘दिनभर निराहार ब्रत बसेका पुरुष बेलुकी पख भीम र अन्य देवीदेवतालाई रोटी, फलफुल चढाउँछन् । एउटा टपरीमा रहेको रोटी र फलफुल एक–एक, दुई–दुई वटा अर्को टपरीमा राखिन्छ । र, रोटी, फलफूल आगोलाई पनि चढाइन्छ । यसलाई थारु भाषामा ‘अग्रासन कहर्ना’ भनिन्छ । त्यसपछि देवतालाई पानी चढाउने गरिन्छ ।’ थारु पत्रकार पछल्डङग्याले अगाडी थपे–‘यसलाई पानी पर्छना भनिन्छ । यी सवै कर्म गरिसकेपछि घरका सबैजना एक ठाउँमा बसेर खाने चलन छ ।’

मुख्यमन्त्री शंकर पोख्रेलले दिए अट्वारीको शुभकामना

थारु समुदायको पवित्र पर्व अट्वारीको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शुभकामना दिएका छन् । उनले एक शुभकामना सन्देश जारी गरि थारु समुदायको पवित्र पर्व अट्वारीले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव बढाउने आशा गरेका छन् ।

नेपाल बहुभाषिक र बहुजातीय मुलुक भएको बताउँदै उनले विभिन्न जात जाति र समुदायले मनाउने पर्व तथा संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बन्ने विश्वास लिएका छन् । समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएका छन् । यो नेपाली समाजको विशेषता अरुका लागि पनि अनुकरणीय छ,’ उनले भनेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको बताउँदै मुख्यमन्त्री पोख्रेलले संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको बताएका छन् । अहिले मुलुक संविधानको व्यवहारिक कार्यान्वयनको यात्रामा अघि बढेको छ । संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने वातावरण बनेको छ,’ मुख्यमन्त्री पोखे्रलले अट्वारीको पूर्व सन्ध्यामा जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रदेश सरकारले थारु समुदायको महत्वपूर्ण पर्वको सम्मानमा बाँके, बर्दिया र दाङमा समुदायगत सार्वजनिक बिदा दिएको स्मरण गराउँदै उनले विश्व महामारी कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रीत भएकोले स्वास्थ्य सुरक्षाको साधन अवलम्बन गरि अट्वारी मनाउन सुझाव दिएका छन् । राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको छ । राज्यले स्वास्थ्य सुरक्षाका लागि चालेका कदममा नागरिकको पूर्णतः पालनाले मात्रै कोभिड—१९ लाई जित्न सकिन्छ,’ शुभकामना सन्देशमा भनिएको छ, कोभिड—१९ विरुद्धको संघर्षमा विजय हासिल भएपछि आगामी वर्षहरुका चाडपर्वहरु उल्लास र खुशीका साथ मनाउँला । अहिले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरि आफू बचौंं, अरुलाई पनि पालनाको लागि प्रेरित गरौं ।’ उनले सिंगो समाजलाई कोरोनामुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि हार्दिक अपील समेत गरेका छन् ।