नेपालगन्ज : बाँके प्रहरीको मूल्यांकनमा प्रहरी जवान देबेन्द्र हमाल ‘पुलिस अफ द मन्थ’ घोषित भएकाछन् । प्रहरी जवान हमालले उत्कृष्ठ कार्य गरेको भन्दै कदरपत्र सहित अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

साउन महिनामा उत्कृष्ठ काम गर्ने कर्मचारीमध्ये उनी साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका हुन् । बाँके प्रहरीले साउन महिनामा उत्कृष्ठ कार्य गर्ने तीन जनालाई पुरस्कृत गरेको हो । यी मध्ये हमाल अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका हुन् । भने प्रहरी नायव निरीक्षक अनुरुप यरी र प्रहरी जवान सन्तोष पौडेललाई अभिलेखमा उल्लेख हुने गरि नगद पुरस्कार तथा मायाको चिनोद्वारा पुरष्कृत गरिएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिए ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरेको भन्दै बाँके प्रहरीले उनीहरुलाई सम्मान गरेको हो ।

आईतबार जिल्ला प्रहरी कार्यालयमा गरिएको एक कार्यक्रममा उनीहरुलाई बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले कदरपत्रसहित पुरस्कार प्रदान गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश खड्काले बताए ।

सोक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम समेतको उपस्थित रहेको कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले सञ्चालन गरेका थिए ।