विचार

लघुकथा : अगस्त २५


लघुकथा : अगस्त २५

आज अगस्त २५, सम्झिनु पर्ने धेरै कारणहरु छन् । मैले सर्बप्रथम त आफु यस धर्तीमा अवतरण गरेको दिनको रुपमा सम्झे, एउटा अचम्मको परिवेश हुन्छ जन्म । आफु रोई रहेको हुन्छ मान्छे, तर, वरिपरी सबै हाँसी रहेका हुन्छन् । रुसोले भनेका छन्, मानिस आफु स्वतन्त्र जन्म लिन्छ तर, तुरुन्तै उस्ले आफुलाई बाँधिएको पाउँछ ।

यहाँ रुसोले दर्साउन खोजेको सँसारिक बन्धनमा बाँचिनु हो, अपितु यसरीनै जिवन चली रहन्छ । जिवनलाई नजिकबाट नियाल्दा यस्को परिधी, यसको आयतन, यसको समयावधी, यसको गहिराई, यसको तौल, यस्को मुल्य बुझ्नै गार्हो छ ।

प्रतिबिम्ब खोज्दै हिन्दैछ मनुवा, आफ्नै बिम्ब सित बरालिँदै जहिँ,
बिचित्रको अनुभुती बोकी बटुवा,दम्भ साहस लथालिङ्ग कहिँ,
ईश्वरको घरमा के छ कुन्नी, दयाको पुष्प बर्षा ताक्दै नभ तिर,
फक्रेको आकासमा उस्को भावना, उडन खोज्छ हाँस्दै खेल्दै जहिँ । ।

आफ्नै कबिताभित्रबाट पनि यो जिवनको सार खोज्दैछन । एकजना कबी ‘मेदिनीराज’ । कबिता मनको भावना, बिचार, बिकार, आरोह, अवरोह, दुख, पिडा, सुख, खुसी पोख्ने माध्यम हुन सक्छ । तर, पनि यसले पनि जिवनको चरित्रलाई पुर्ण चरितार्थ गर्न सक्दैन जस्तो लाग्छ । एउटा राजकुमार जिवनको सार खोज्न राजपाठ तुआगी, गहिरो ध्यान चिन्तनमा पुग्छ र एक दिन गौतम बुद्ध बन्न पुग्छ ।

एउटा ज्ञानी पुरुष ऋषी पुलत्स्यको नाती दानव सम्राट रावणको रुपमा ईतिहासमा कहलिन्छ । कयौँ शहिदहरु देशको लागि सहादत दिन पुग्छन्, क्रुर शासकहरुको कोपभाजनमा पर्न जान्छन्, मृत्युलाई सहजै बरण गर्छन् । सत्ता पाउनको निमित्त कोतपर्ब, भँडारखाल र अन्य थुप्रै घटनाहरु घटना पुग्छ । के यहि हो त जिवनको सार, एकबारको जिवनको उपादेयता । फुक्का फकिर र जोगीले पनि आफ्नो जिवन जिएकै हुन्छन् भने पैसा अर्थात द्रब्यलाई सदा पछ्याउनेहरुको पनि कमी छैन ।

आज अगस्त २५ मैले बिश्व ईतिहासको कठघरामा राखेर केहि क्षण जिवनलाई सम्झिने कोशीस गरेँ ।

आजका दिन अर्थात फ्रान्सको पेरिस नाजीहरुको हातबाट स्वतन्त्र हुन पुगेको रहेछ । सन् १९४० देखि सत्तामा पुगेका क्रुर नाजीहरुको चँगुलबाट १९४४ अगस्त २५ का दिन फ्रेन्च दबाब समुहले सत्ता फिर्ता लिन सकेका रहेछन्, जसको निमित्त उनीहले ठुलो सँघर्ष नै गर्नु परेको थियो । यस कार्यको निमित्त अमेरिकाले फ्रेन्चहरुलाई सामरिक सहयोग पुर्याएको रहेछ ।

त्यसो त हामी हिन्दू धर्मावलम्बीहरुको तिथीको पनि जन्मदिन हुन्छ, जुन तारिख अथवा गते सित मेल नखान पनि सक्छ । मेरो पनि तिथीनुसार कुशे औँशीको दिनको जन्म हो । यहि दिन नेपाल युवा कबिका नामले प्रख्यात मोतीराम भट्टको पनि जन्म भएको हो । उनी नेपाली साहित्यका कहिले नअस्ताउने एक नक्षत्र हुन, वहाँलाई हार्दिक नमन ।

भक्तिधारा परम्पराको प्राचिरलाई भत्काई काव्यिक फाँटमा शृङ्गारिक भावधाराको परिवर्तन गरेर नेपाली साहित्यको धरातलमा युगान्तकारी परिवर्तन ल्याउने कार्य मोतीराम भट्टद्वारा नै भएको हो । नेपाली साहित्यको ईतिहासमा जुन युगलाई हामी माध्यमिककाल वा विकासकाल भनेर जान्दछौँ त्यस युगका प्रवर्तक नै मोतीराम भट्ट हुन् ।

यति सम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ,
न त मन् लिएँ न त दीदिएँ न यता भएँ न उता भएँ ।
न त होस् वास कि राखियो न त फूलको रस चाखियो,
न त याद भो न त स्वाद भो, न यता भएँ न उता भएँ ।

त्यसो त आजका दिन अगस्त २५ मा बिली र सायरस (अमेरिका का प्रख्यात गायक तथा सँगितकार) पनि जन्मेका रहेछन ।
अगस्त महिनाको नामकरणको पछाडी पनि एक रोचक तथ्य रहेछ । प्रथम रोमन राजा अगस्तस सेजर लाई उनका प्रथम मामाले दत्तक पुत्रका रुपमा स्विकार गरी शासनकोको बागडोर हातमा दिएका रहेछन । यीनै राजा अगस्तसको नामबाट अगस्त महिनाको नस्म रहन गएको हो । पहिले पहिले अगस्त महिनालाई छैँठो महिनको रुपमा मानिँदो रहेछ, जुन अहिले परिवर्तित भयो ।

यसरी अगस्त २५ हुँदै अगस्त महिना अनि कुशे औँशीलाई सम्झिँदै यो परिवर्तनशील जमानाको कतिपय अपरिवर्तनशील वर्ष, महिना, तिथी लाई सम्झिने जमर्को गरेँ । आजको दिन ईतिहासमा कयौँ अन्य घटना पनि भएका होलान । यस्तै यस्तै घटनाहरु अघिपछि नि भएकै हुन्छन । मौसम परिवर्तन हुन्छ, यी महिना गते पनि घुम्दै फिर्दै दैलोमा आई पुग्छन्, यीनलाई पनि यो चक्रले घुमाएकै हुन्छ । यसरी जिवन अनि यसका अन्तुतन्तु पनि घुमी रहन्छन् । कहिले भौतिकमा कहिले शून्यमा, कहिले शरिरको रुपमा, कहिले आत्माको रुपमा । सायद यहिनै जिवन हो कि ?