नेपालगन्ज : नेपालगन्जस्थित हनुमानगढिका मुल महन्तको निधन भएको छ । मुल महन्त श्री श्री १००८ श्री हिरामान (हरि शंकर गिरि नागा बाबा)को ८७ वर्षको उमेरमा हनुमान गढिमा मंगलबार निधन भएको हो ।
पछिल्लो समय अस्वस्थ्य रहेका नागाबाबा गिरीको मङ्गलबार सवा एक बजे निधन भएको हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले जानकारी दिए ।
उनले भने–‘गत जेठ १५ गते उहाँलाई ब्रेन ह्यामरेज भएपछि हालसम्म उपचारकै क्रममा हुनुहुन्थ्यो । शुरुमा ३ दिन नेपालगन्ज मेडिकल कलेजमा राखिएपछि थप उपचारका लागि भारको मेदान्त अस्पतालमा लगिएको थियो ।’
‘त्यहाँ उहाँको १ महिना उपचारपछि पुनः नपालगन्ज ल्याइएको थियो । नेपालगन्ज ल्याएपनि मेदान्त अस्पतालकै सल्लाह अनुसार औषधी चलिरहेको थियो ।’ समितका अध्यक्ष भट्टराईले भने ।
उनले भने–‘उपचारकै क्रममा उहाँको किड्नी, मुटु, फोक्सोमा समस्या देखिँदै गएपछि बिस्तारै शरीर सिथिल हुन थालेको थियो । उहाँ हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका संरक्षक रहि महन्त पदमा हुनुहुन्थ्यो ।’
समितिका अध्यक्ष भट्टराईका अनुसार उनको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेसम्म गौशालामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि नेपालगन्ज परिक्रमा गराई उनकै बास स्थानमै समाधिष्ट गरिने छ ।