नेपालगन्ज : कोरोना भाइरस संक्रमण बढिरहदाँ बाँके प्रशासनले नयाँ शैलीको निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले हप्तामा दुई दिन निषेधाज्ञा लगाउने निर्णय गरेकोछ । तर, यो निषेधाज्ञा यसअघि सर्वसाधरणको सहजताका लागि दिइएको भन्दा पृथक रहने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
उनले भने ‘हप्ताको दुई दिन शुक्रबार र शनिबार जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा लगाइनेछ । यो अवधिमा पसल ब्यवसायदेखि सबै कुरा ठप्प पारिनेछ ।’
पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहनु र मृतकको संख्या बढेर जाँदा सर्वसाधरणको उपस्थिती नियन्त्रणका लागि यो विधि अपनाइएको हो । प्रजिअ कुरुम्वाङ्गले भने ‘हप्ताको दुई दिन पूर्णरुपमा बन्द गर्दा केही कन्ट्रोल हुने आँकल गरेका छौं यसको अर्थ अन्य दिन भीडभाड गर्ने र मनपरि गर्ने भने होइन ।’
कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका विषयमा छलफल हुदाँ यो विधि अपनाउने निर्णय भएकोछ । आउँदो हप्तादेखि लागु गरिन्छ । जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था झन जटिल बन्न सक्ने आँकलन गर्दै प्रजिअ कुरुम्वाङ्गले भने–‘सावधानी, उच्च सतर्कता र स्वास्थ्य सम्बन्धि मापदण्डलाई पूर्णरुपमा पालना गर्ने ब्यक्ति नै सुरक्षित हुन्छ । तर, यसका विरुद्ध जानेले सबैलाई संकटमा पार्न सक्छन् ।’