नेपालगन्ज : बाँकेका मुस्लिम समुदायले धुमधामका साथ मोर्हरम मनाएकाछन् । मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन आईतबार बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणकाबीच मोर्हरम मनाइएको हो । कोरोनाका कारण प्रभावित बनेको यसवर्षको मोर्हरममा मुस्लिम समुदायको उत्साह कम पाइएको थियो । यद्यपी सीमित ब्यक्तिहरुले राखेको ताजिया तथा मुस्लिम समुदायका युवाहरुले प्रदर्शन गरेका विभिन्न कला प्रदर्शन हेर्नका लागि सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै नभइ जिल्लाका विभिन्न पालिकामा समेत मोर्हरम पर्व मनाइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले कुनैपनि धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न गराउन रोक लगाएको थियो । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सभा, समारोह, उत्सव तथा भेला नगर्न निर्देशन जारी गर्दै २५ जना भन्दा बढि भेला भएको पाइएमा कारबाही गर्ने बताएको थियो ।
तर, कोरोना माहामारीका बीच चाडपर्व मनाउदै गर्दा स्वास्थ्य सम्बन्धिको सजगता र सुरक्षालाई मध्यनजर नगरिदाँ यसले थप जोखिम ल्याउनसक्ने सम्भावना बढाएकोछ ।
पछिल्लोपटक दिनहुँ बाँकेमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकोछ । जिल्ला मै सबैभन्दा बढि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नेपालगन्जमा रहेकोछ । यहाँका तीन जनासहित बाँकेमा ६ जनाको ज्यान गइसकेकोछ ।
यसरी मनाउन थालिायो मोर्हरम
ईराकको करबलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका ईमाम हुसेन र ईमाम हुसनलगायतको सम्झनामा मोहर्रम मनाइने गरिन्छ । यो दश दिनसम्म मनाउने गरिन्छ । हत्या गरिएका तिनै शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन भएको हो ।
मोहर्रमका अवसरमा नगरका बिभिन्न स्थानमा ताजिया झकिझकाउका साथ सजाइएको थियो । सजाइएका ताजियाहरुलाई बाजागाजाका साथ ढोल र नगडाका तालमा नगरको परिक्रमा गराईएको थियो ।
ताजिया विर्सजनका क्रममा ईस्लाम धर्मावलम्बीहरुले दुःख प्रकट गर्दै विभिन्न झाँकी तथा गतिविधि समेत गरेका थिए । नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा स्थित करबलामा ताजिया विर्सजन गरिएको करबला संरक्षण समितिले जनाएकोछ ।