खुल्यो अन्तर्राष्ट्रिय उडान


खुल्यो अन्तर्राष्ट्रिय उडान

नेपालगन्ज : सरकारले आज भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको छ । कोभिड– १९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । योसगैं पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको छ ।

यसअघि भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले पीसीआर परीक्षण सहज भएका देशहरूबाट सर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल आउन नेपाली नागरिकलाई सरकारले अनुमति दिएको हो ।

यस्तै नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी लगायतलाई पनि नेपाल ल्याउने गरी नियमति उडान गर्न अनुमति दिएको छ ।

नियमित उडानबाट नेपाल आउँदा ७२ घण्टाअगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्नेछ । कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भएपछि सीधै आफ्नो घरमा जान पाइनेछ । तर, १४ दिन होम क्वारेन्टिनमा भने बस्ने लिखित प्रतिबद्धता पनि गर्नुपर्नेछ ।

पीसीआर गर्न गाह्रो भएका मुलुकहरू कतार, साउदी अरबलगायतबाट नेपाल आउने नेपालीलाई भने चार्टर्ड उडानबाट मात्रै ल्याउने निर्णय सरकारले गरेको छ । यस्ता मुलुकबाट आउँदा ७ दिन काठमाडौंमा होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ भने त्यसपछि पनि आफ्नो घर गएपछि १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धता गर्नुपर्ने हुन्छ ।

सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको छ । त्यसरी यात्रु ल्याइएको खण्डमा सबै यात्रुलाई होटलको क्वारेन्टिनमा राख्नुपर्ने र त्यसको खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने हुन्छ ।

यस्तै यसअघि सरकारले नियमित एवं चार्टर्ड उडानबाट दैनिक पाँच सयजना मात्रै ल्याउन पाउने निर्णय गरेकोमा अहिले संख्या बढाएर दैनिक ८ सय पु¥याएको छ । नेपालमा लकडाउन शुरु भएदेखि चार्टर्ड उडान भए पनि नियमित उडान भने रोकिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चैत ११ देखि हालसम्म करिब ५५ हजार यात्रु नेपाल आए भने नेपालबाट २२ हजार बढी यात्रु बाहिरिएका छन् ।