बागलुङ : बाढीपहिरोबाट ढोरपाटन नगरपालिकामा भएको क्षतीप्रति जिल्ला सहकारी संघ लिमिटेड बागलुङ्गले दुख व्यक्त गरेको छ ।
अविरल वर्षाका कारण गत भदौ १७ गते आएको बाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ का विभिन्न स्थानमा जनधनको क्षतीले जिल्ला सहकारी संघलाई स्तब्ध भएको संघले जनाएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा शनिवार बिहान बसेको संघको बैठकले पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारमा समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै घटनामा परि वेपत्ता भएकाहरुको खोजबिन र राहत तथा पुर्नस्थापनामा ध्यान दिन संघले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिए ।
पहिरोबाट ढोरपाटन नगरपालिकामा १५ जनाको ज्यान गएको र २३ जना अझै वेपत्ता रहेका छन् । बाढी पहिरोले ८० घर पूर्ण रुपमा र ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले सो क्षेत्रका ११ वटा लघुजलविद्युत, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुंगेपुल, ५ वटा ढलान पुल, १० वटा काठे पुल र २ वटा विद्यालयमा क्षति पु¥याएको छ ।
यसबीच पहिरोका कारण ठुलो संख्यामा स्थानीय बासिन्दाहरु घरबार बिहिन भएको अवस्थालाई मध्यनजर गरी जिल्ला सहकारी संघले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरु लगायत देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई सहयोगका लागि आव्हान गरेको छ ।
विपत्तीको समयमा सबै मिलेर पीडितहरुको पीडामा मल्हम लगाउने योजनाका साथ जिल्ला सहकारी संघले देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई संघको अभियानमा सहयोग गर्न आव्हान गरेको जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले बताइन् ।
बागलुङबासीलाई परेको विपत्तीमा देशभरका सहकारीहरुबाट ऐक्यवद्धता र सहयोगको अपेक्षा सहित सहयोगका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखामा रहेको खाता नम्बर १४–०००३३–९ मा रकम जम्मा गर्न सकिने कोषाध्यक्ष जिसीले जानकारी दिइ ।
संघले सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णयसंगै संघका पदाधिकारी तथा सदस्यहरुका तर्फबाट ६० हजार रुपैया संकलन गरेको छ । सहकारी अभियानको तर्फबाट बाढी पहिरो पीडितका लागि देशभरबाट सहयोग संकलन हुने अपेक्षा गरिएको छ, संघका अध्यक्ष दीपक गौतमले भने–‘जिल्ला सहकारी संघ बागलुङको यो अभियानले देशभरका अन्य क्षेत्रमा समस्या पर्दा पनि ऐक्यवद्ध हुन सहयोग पुग्नेछ ।’