नेपालगन्ज : कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि बाँकेमा प्रशासनले अपनाएको दुई दिने जिल्ला निषेधाज्ञा आज राती १२ बजे सकिदैछ । बाँकेमा लगाइएको निषेधाज्ञाको आज दोस्रो दिन पनि नेपालगन्ज सहित जिल्लाभर कुनैपनि सवारी साधन चल्न पाएनन् । यद्यपी हिजो शुक्रबार भन्दा केही बढि मात्रामा आज नेपालगन्ज र आसपासका क्षेत्रमा चहलपहल बढेकोछ ।
नेपालगन्जका भित्री तथा सहयाक नाका, टोल, बस्ती, गलीमा स्थानीयको भीड उस्तै देखिएपनि यसपटकको दुईदिने निषेधाज्ञामा स्थानीयको समेत एक्यबद्धा रहेको देखिएकोछ । बजारका सामान्य चिया तथा घुम्ति पसल समेत खुलेका छैनन् । यद्यपी एकाध पसल खुलेका पाइएकोछ ।
दुईदिनको निषेधाज्ञाको विधि अपनाएको बाँके प्रशासनले शुक्रबार र शनिबार सर्वसाधरणको उल्लेख्य भिड लाग्ने हुदाँ यी दुईदिन कडाईका साथ अघि बढेको हो । यो अवधिमा अत्यावश्यक कामबाहेक अन्यलाई घरबाहिर निस्कन छुट दिइएको छैन ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको गत भदौ १२ गते शुक्रबार बसेको बैठकले हप्तामा दुई दिन निषेधाज्ञा लगाउने निर्णय
गरेको थियो । सोही निर्णय अनुसार हिजो शुक्रबारदेखि जिल्लामा दुई दिने निषेधाज्ञा लगाइएको हो ।
पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहनु र मृतकको संख्या बढेर जाँदा सर्वसाधरणको उपस्थिती नियन्त्रणका लागि यो विधि अपनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबाहादुर कुरुम्वाङ्गले बताए ।
प्रजिअ कुरुम्वाङ्गले भने ‘हप्ताको दुई दिन पूर्णरुपमा बन्द गर्दा केही कन्ट्रोल हुने आँकल गरेका छौं यसको अर्थ अन्य दिन भीडभाड गर्ने र मनपरि गर्ने भने होइन ।’
जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था झन जटिल बन्न सक्ने आँकलन गर्दै प्रजिअ कुरुम्वाङ्गले भने–‘सावधानी, उच्च सतर्कता र स्वास्थ्य सम्बन्धि मापदण्डलाई पूर्णरुपमा पालना गर्ने ब्यक्ति नै सुरक्षित हुन्छ । तर, यसका विरुद्ध जानेले सबैलाई संकटमा पार्न सक्छन् ।’
लगातार कोरोना संक्रमणको दर उकालो लागिरहदाँ बाँकेको नेपालगन्ज र कोहलपुर कोरोनाको हटस्पट बन्दै गएकोछ ।