राप्तीसोनारीका पौडेल सर्वोत्कृष्ट कर्मचारी


राप्तीसोनारीका पौडेल सर्वोत्कृष्ट कर्मचारी

बाँके (अगैया) : राप्तीसोनारी गाउँपालिकाले योजना शाखा प्रमुख बालानन्द पौडेललाई सर्वोत्कृट कर्मचारीको रुपमा सम्मान गरेको छ ।  जामति कर्मचारी दिवसको अवसरमा गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पौडेललाई नगद १० हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

उनको कार्यसम्पादन, अनुशासन र सेवाग्राहीलाई गर्ने ब्यवहारको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, सब इन्जिनियर रामबहादुर बुढा, वडा नम्बर– ३ का वडासचिव बुद्धिराम भण्डारी, वडा नम्बर–४ का वडासचिव शैलजा चौधरी, स्वास्थ्य चौकी बिनौनाका स्वास्थ्यकर्मी जश्मी बुढाथोकी र कार्यालय सहयोगी मोतिराम चौधरी तथा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी जंगु चौधरीलाई पनि उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ ।

सम्मानि सबैलाई प्रतिब्यक्ति ५ हजार रुपैयाँका दरले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको बस्नेतले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले कर्मचारीलाई सम्मान गरिदाँ उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए । कर्मचारीले राम्रो काम गरेर हरेक सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।

‘इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाब मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ अध्यक्ष थारुले भने ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अनुशासन र कामले नै कर्मचारीको मुल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनुपर्ने बताए ।

उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे । यस्तै योजना शाखा प्रमुख पौडेलले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए । ‘कार्यालयले सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेपछि आफूमा थप जिम्मेवारी बढेको महसुस गरेको’ उनले बताए ।