नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला बिपद् व्यवस्थापन समितिको तर्फबाट तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई हस्तान्तरण गरेका छन् ।
जिल्ला बिपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष समेत रहेका प्रजिअ कुरुम्वाङ्गले प्रदान गरेका उक्त अत्याधुनिक मेसिन मंगलबार जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक प्रहरीलाई प्रदान गरिएको छ ।
प्रजिअ कुरुम्बाङले जिल्लामा मापसे चेकजाँच गर्ने अत्याधुनिक मेसिन नभएकै कारण ट्राफिक प्रहरीलाई मापसे चेकजाँच गर्न सहज होस भन्ने हेतुले तीन थान अत्याधुनिक ब्रेथलाईजर मेसिन प्रदान गरिएको बताए ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अत्याधुनिक ब्रेथलाइजर मेसिनद्वारा मापसे गरेको चालकको तस्वीर सहित सम्पुर्ण विवरण रेकर्ड हुने भएकोले कारबाही प्रकृया अगाडि चलाउन सहज हुने बताए ।
उनले भने–‘यो मेसिनले चालकलाई प्लास्टिकको पाइप मार्फत मेसिनमा फुक्न लगाइ के कति मात्रामा अल्कोहल सेवन गरेको छ सो को मात्रा सहित, तस्वीर, नाम, लाइसेन्स नम्बर सबै विवरण रेकर्डसहित प्रिन्ट हुने भएकोले अकाट्य प्रमाण समेत हुनेछ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लामा पहिलोपटक अत्याधुनिक मेसिन प्राप्त भएसगैं मापासे चेकजाँच र त्यसको विवरण राख्न सहज हुने बताए । उनले भने यसअघि भएका ब्रथलाइजर बिग्रिएको र अपुग भएको अवस्थामा ट्राफिक प्रहरीले चालकको मुख सुँघेर मापसे गरे नगरेको पत्ता लगाउने गर्नु परेको बाध्यात्मक अवस्थालाई थप केही सहज र सरलता गरेको बताउँदै यो मेसिन मार्फत सरल र सहज रुपमा बैज्ञानिक तरिकाले मापसे चेकजाँच गरिने बताए ।
उनले यो ब्रेथलाइजर मेसिनमार्फत चालकको तस्वीर, नाम, लाइसेन्स नम्बर, अल्कोहलको मात्रा मात्रै नभएर चालक पहिला मापसे कारबाहीमा कति पटक परेको छ भन्ने पनि रेकर्ड हुने बताए । बाँके ट्राफिकले तत्काल यो मेसिन प्रयोगमा ल्याउने तयारी गरेको जनाएको छ ।
बाँकेमा सडक दुर्घटना बढेपछि सोको न्यूनिकरणको लागि व्हील लकर प्रयोग गर्नुको साथै छड्के जाँच गर्ने गरिएकोमा अब ब्रेथलाईजर प्रयोग गर्न शुरु गरिएसंगै सडक सुरक्षा सहज हुने विश्वास गरिएको छ ।