नेपालगन्ज : वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’को ९२ औं जन्मजयन्तिमा श्रद्धाञ्जली सभा गरिएको छ । भदौ २७ गते जन्मजयन्ति भएपनि नेपालगन्जमा शुक्रबार र शनिवार निषेधाज्ञा लगाइएका कारण गुप्ताको जन्मजयन्ति आईतबार मात्र मनाइएको हो ।
किरण साप्ताहिक र प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानद्वारा महेन्द्र पुस्तकालयमा आयोजित श्रद्धाञ्जली सभामा गुप्तको फोटोमा माल्यार्पण गर्दै उनको व्यक्तित्व र योगदानको चर्चा गरिएको थियो ।
सभामा स्वर्गीय गुप्ताकी धर्मपत्नी कमलादेवी गुप्ताको समेत उपस्थिति रहेको थियो । नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष गुप्ताको गत माघ १५ गते निधन भएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति समेत रहनुभएका गुप्ताले झण्डै ४ दशक अघिदेखि नेपालगन्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आएका थिए । स्वर्गीय गुप्ताका समकक्षी एवं वरिष्ठ साहीत्यकार सचिदानन्द चौबैले पत्रकार गुप्ता असल, अग्रणी र सफल व्यक्तिका रुपमा सदैव स्मरणीय रहने बताए । उनको सम्मानमा कविता समेत प्रस्तुत गर्दै चौवैले उनको नाममा दीर्घकालीन सामाजिक कार्यहरु गर्न पनि सम्बद्धसंग अपील गरे ।
स्वर्गीय गुप्ताका जेष्ठ सुपुत्र एवं प्रतिष्ठानका अध्यक्ष विजय कुमार गुप्ताले उनले कल्पना गरेको समाज निर्माणमा पत्रकारहरु क्रियाशील हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, जसपा अध्यक्ष लक्ष्मीनारायण बर्मा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष जयनाराण शाह, प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओली, प्रभाकर मिश्रा, डाक्टर सुरेश कनोडिया, डाक्टर रवि चौरसिया लगायतले स्वर्गीय गुप्ताको लोकतन्त्रप्रतिको विश्वास, पत्रकारताप्रतिको क्रियाशीलता र सादगी जीवनबारे चर्चा गर्दै उनको विचारलाई जीवन्त राख्नुपर्ने बताए ।
प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रतिष्ठानका आगामी योजनाबारे सदस्य सुनिल कुमार गुप्ताले प्रकाश पारेका थिए ।