नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत खरालको विदाई


नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत खरालको विदाई

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि आईतबार गाउँपालिकाले एक कार्यक्रम गरी विदाई गरेको छ ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रशासन प्रमुख विजय कुमार यादव र सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले विदाई मन्तब्य ब्यक्त गर्दै छोटो समय काम गर्ने अवसर मिलेपनि कोभिड–१९ को संकटमा फसेको नरैनापुरलाई संकटबाट मुक्त गर्न अहम् भूमिका खेलेको भन्दै उनको प्रशंसा गरे ।

खरालको नेतृत्वमा काम गर्दा उत्साह मिलेको उनीहरुको भनाई थियो । प्रमुख प्रशासकीय अधिकृत खरालले विदाईको क्षण नरमाइलो भएपनि सरुवा नियमित प्रक्रिया भएको बताउँदै संगसंगै काम गर्दा सहयोग र साथ दिएको भन्दै सबैप्रति आभार प्रकट गरे ।

अध्यक्ष शाहले खरालको नेतृत्वमा कोभिड–१९ नियन्त्रणसंगै गाउँपालिकाले सबै क्षेत्रमा राम्रो गति लिएको बताए । जिन्सी शाखा प्रमुख भरत महतोले सहजीकरण गरेको विदाई कार्यक्रममा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा नम्बर– १ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा लगायत अन्य जनप्रतिनिधि, कर्मचारीको उपस्थिति थियो ।

नरैनापुर गाउँपालिकामा सात महिना प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खरालको बाँकेकै खजुरा गाउँपालिकामा सरुवा भएको छ । अब नरैनापुरमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा महेन्द्रजंग शाही आउनेछन् ।