नेपालगन्ज : बाँके प्रशासनले हप्ताको दुई दिन लगाउदै आएको बाँके निषेधाज्ञा हटाएकोछ ।
कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेको बेला कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि बाँके प्रशासनले अपनाएको नयाँ शैलीको निषेधाज्ञा अन्ततः हटाइएको हो ।
हप्ता दुई दिन शुक्रबार र शनिबार बाँकेमा निषेधाज्ञा लगाउने विषयमा यसअघि नेपालगन्जका उद्योगी ब्यापारि देखि लिएर सर्वसाधरणले विरोध समेत जनाउदै आएका थिए । तर, बाँके प्रशासनले कोरोना भाइरस संक्रमणको चेन तोड्नका लागि नयाँ शैलीको निषेधाज्ञा हप्तामा दुई दिन लगाउने भनि निर्णय गरेको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट उक्त निर्णय गरिएको थियो । उक्त निर्णय लागु भएको तेस्रो हप्ता पुग्नु अगावै बाँके प्रशासनले शुक्रबार र शनिबारको निषेधाज्ञा हटाएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
उनका अनुसार जिल्लामा निषेधाज्ञा हटाइएपनि कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सजग र सर्तकता अपनाउन आग्रह गरे ।