नेपालगन्ज : ३९ औं अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा नेपालगन्जमा दीप प्रज्वलन गरिएको छ । ‘सँगै मिलेर शान्तिलाई साकार पारौं’ भन्ने नाराका साथ यस वर्ष पनि शान्ति दिवस मनाइएको छ ।
विश्व शान्ति दिवसको उद्देश्यले हरेक वर्ष यो दिवस विश्वभर मनाईने गरिन्छ । द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेको संयोजनमा सोमबार साँझ न्यूरोडस्थित शान्ति स्मारकमा दीप प्रज्वलन गरिएको हो ।
स्मारकमा शान्तिको प्रतिक परेवा अंकित चित्र बनाएर दीप प्रज्वलन गरिएको थियो । सशस्त्र द्वन्द्व, मधेश आन्दोलन, थरुहट आन्दोलनमा बाँकेमा मारिएका, वेपत्ता पारिएका र शहीद भएकाहरुको सम्झनामा स्वरुप उनको नाम अंकित गरिएको छ ।
द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती केसी, संस्थापक अध्यक्ष शोभा बीसी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की वडा सदस्य एवं द्वन्द्व पीडित अगुवा वसन्ता जोशी लगायतको उपस्थिती रहेको थियो ।
कोरोना संक्रमणको विषम परिस्थितीलाई मध्यनजर गर्दै अन्य कार्यक्रम भने गरिएको थिएन । विशेष गरि १२ वर्षे शसस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत शुरुवातको खुसियालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ ।