विद्यार्थी भर्ना एक हप्ताभित्र सक्नुपर्ने निर्देशन


विद्यार्थी भर्ना एक हप्ताभित्र सक्नुपर्ने निर्देशन

नेपालगन्ज : शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय शिक्षा सम्बन्धी आकम्मिक कार्ययोजनामा विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना गराइसक्नु पर्ने निर्देशन दिएकोछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्ययोजना अनुसार असोज पहिलो साताभित्र शिक्षकहरू कार्य स्थलमा पुगिसक्नुपर्ने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने र असोज दोस्रो साताभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेछ ।

सोही कार्य योजना अनुसार मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको हो ।

यस्तै निजी तथा संस्थागत विद्यालयहरूले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजना बनेको छ ।

मन्त्रालयले यसअघि जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानूनको अधिनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ भनिएको थियो । यसका लागि विद्यालयहरूले आगामी एक हप्ता भित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।