गुणस्तरहीन पानी उत्पादन गर्ने मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योग सिल


गुणस्तरहीन पानी उत्पादन गर्ने मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योग सिल

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर– ११ मा रहेको मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योग सिल गरिएको छ । मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्वारा उत्पादित वरपिपल पानी गुणस्तरहीन पाइएपछि उद्योग सिल गरिएको हो ।

न्यूनतम पूर्वाधार बिना उद्योग सञ्चालनमा ल्याएको र यस अघिको पानी परीक्षणका क्रममा खान योग्य नदेखिएकोले उद्योग सिल गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पुरा नगरेको र यसअघि पूर्वाधार सुधारका लागि दिइएको निर्देशन अवेज्ञा गरेको पाइएपछि उद्योग सिल गरिएको हो ।

पानी उद्योग सञ्चालनका लागि आफ्नै ल्याब सञ्चालनमा ल्याउनु पर्ने, पानीको जार र बोतलमा उत्पादन मिति र ब्याच नम्बर लगाउनु पर्ने, पानीका जार उचित तवरले सरसफाइ गर्नु पर्ने प्रावधान रहेकोछ । यी प्रावधान र अनुगमन टोलीले दिएको निर्देशनको अटेरी गरेको पाइएकोले उक्त उद्योग सिल गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर– १० मा रहेको झरना जल उद्योगलाई सुरक्षा मापदण्ड पुरा नगरी सञ्चालनमा ल्याइएको भन्दै सचेत बनाइएको छ ।

अनुगमन टोलीलले सो उद्योगलाई एक हप्ता भित्र कोहलपुर नगरपालिकामा दर्ता हुन, पानीका जार शुद्ध तवरबाट सफाइ गर्न, बजारमा पठाउँदा अनिवार्य सिल र लेबल लगाउन निर्देशन दिइएको छ ।

पछिल्लो समय कोहलपुर क्षेत्रमा सञ्चालित पानी उद्योगहरूले मापदण्ड पुरा नगरेको अनुगमन टोलीले बताएकोछ । केही समय पहिले कोहलपुरको आरुष पानी उद्योग र मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको थियो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नाप तौल विभागको टोली, कोहलपुर नगरपालिका र प्रहरीको सहभागिता रहेको थियो ।