शिक्षामा कुनैपनि कम्प्रोमाईज हुदैन : नगरप्रमुख डाक्टर राणा


शिक्षामा कुनैपनि कम्प्रोमाईज हुदैन : नगरप्रमुख डाक्टर राणा

नेपालगन्ज : प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगन्ज उप–महानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श सुरु गरेको छ ।

नगर प्रमुख डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा आईतबार राजनीतिक दलकाका प्रतिनिधी, शिक्षाविद्, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको हो ।

सो छलफलबाट मव क्याम्पस नेपालगन्जका सह–प्राध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णको संयोजकत्वमा छात्रा कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन गरि प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन गरिएको छ ।

सो अवसरमा नगर प्रमुख राणाले सञ्चालनका सम्बन्धमा विभिन्न प्रस्ताव आएको बताउँदै छात्रा कलेज उप–महानगरपालिका आफैले सञ्चालन गर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

अहिले पनि नेपालगन्जमा ठूलो संख्यामा छात्राहरु उच्च शिक्षा पाउनबाट बञ्चित भएको अवस्था छ, नगर प्रमुख राणाले भने,–मधेशसी, मुस्लिम लगायत सबै समुदायका छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने यसको मुख्य उद्देश्य हो । शिक्षामा कुनैपनि कम्प्रोमाईज नहुने भन्दै उनले यसलाई मुलुककै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गरिने बताए ।

प्रदेशसभा सदस्य समेत रहेका नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले नेपालगन्जमा स्थापना गर्न लागिएको छात्रा कलेज मुलुककै लागि उदाहरणी बनाउन सबै पक्षको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

धम्बोझी माविको सफलताबाट पनि नेपालगन्जमा सरकारी स्तरमा राम्रो कलेज सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण भएको उनको भनाई छ ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले छात्राहरुलाई उच्च शिक्षाका लागि सहज पार्ने उद्देश्यले कलेज स्थापना गर्न लागिएको भन्दै यसलाई विशेष महत्व दिनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्य, डाक्टर जनार्दन आचार्य शिक्षासह प्राध्यापक अशोक बस्नेत, रविन्द्र कर्ण, सञ्जयराज सिंह, समाजसेवी विजय गुप्ता, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल लगायतले छात्रा कलेज सञ्चालन र ब्यवस्थापनका लागि सुझाव दिएका थिए ।