वाटरपार्कका जग्गाधनीले लालपुर्जा पाए


वाटरपार्कका जग्गाधनीले लालपुर्जा पाए

नेपालगन्ज : वाटरपार्कका जग्गाधनीले स्थायी लालपुर्जा पाएका छन् । योसंगै वाटरपार्कका जग्गाधनीले कानूनी बैधता प्राप्त गरेकाछन् । वाटरपार्क जग्गा एकीकरण परियोजना अन्र्तगत नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ र १८ मा रहेका वाटरपार्क जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण सुरु गरिएको हो ।

एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् । नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आईतबार उप–महानगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सो क्षेत्रका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण गरे ।

जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पुरा भई सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए । उनले स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत लगायतका कामका लागि ८० करोड बढिको टेण्डर प्रक्रियामा रहेको प्रष्ट पारे ।

स्थायी लालपुर्जा वितरणसगैं अब वाटरपार्क परियोजना अन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाईन र रङ एकै प्रकारको हुने भएको छ । डेढ वर्षभित्र सम्पूर्ण रुपमा परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरि तयारी भईरहेको नगर प्रमुख राणाको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

२०६७ सालमा आयोजना स्वीकृत भएको थियो । अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयले घर निर्माण लगायतका अन्य कार्य गर्न पाउने भएका छन् ।

वाटरपार्क परियोजना अन्तर्गत ६६२ जनालाई स्थायी पुर्जा वितरण गरिदैँछ । बाँकी रहेको जग्गा भने प्लटिङ गरि बिक्रि गरिनेछ । वाटरपार्क परियोजना अन्तर्गत ६५ विघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मूल्यांकन समेत भईसकेको छ ।

वाटरपार्क आयोजना अन्तर्गतका जग्गाधनी बलवहादुर चन्दले नेपालगन्ज नगर विकास समितिमा जनप्रतिनिधीहरुको नेतृत्व भएपछि काम तिव्ररुपमा सञ्चालन भई जग्गाधनी स्थायी पुर्जा पाउन सफल भएको बताए ।