खसीबोका बेचेरै फत्तेपुरका महिलाले ६३ लाख बढि कमाए


खसीबोका बेचेरै फत्तेपुरका महिलाले ६३ लाख बढि कमाए

फत्तेपुर (बाँके) : बाँकेको फत्तेपुरका महिलाले खसीबोका विक्री गरि ६३ लाख बढि कमाएकाछन् । राप्तीसोनारी गाउँपालिकामा रहेका महिलाहरुको तीन वटा सहकारीले दशै लक्षित खसीबोका विक्री गरि ६३ लाख बढिको कमाएका हुन् ।

नेपालीको ठूलो पर्व दशैँतिहारमै बढी खसीबोका विक्री हुने भएपछि खसीबोका उत्पादनमा वर्षेनी सहकारीमा आबद्ध महिला किसानको आकषर्ण बढ्दै आएकोछ ।

बाँकेमै खसीबोका उत्पादनका लागि पकेट एरिया मानिएको राप्तीसोनारी गाउँपालिका क्षेत्रको फत्तेपुरका तीन सहकारीमा अबद्ध महिलाले तीन महिनामै खसी तथा बोका बिक्रीबाट ६३ लाख ६२ हजार ९ सय २८ रुपैयाँ भित्र्याएका छन् । गत साउनदेखि कार्तिक २ गतेसम्म दशैं लक्षित ८०७ वटा खसीबोका विक्री गर्दै उक्त रकम भित्र्याएका हुन् ।

बाँकेमा सञ्चालित सामाजिक उद्यमी जिल्ला सहकारी संघमा आबद्ध रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्था, परिर्वतन सामाजिक उद्यमी महिला सहकारी संस्था तथा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत ९ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

दशैँ तिहारका लागि रोशनी सहकारीले ३२१, परिर्वतन सहकारीले २८५ र नयाँ सृजनशिल सहकारीले २०१ खसीबोका गरी जम्मा ८०७ खसीबोका बिक्री गरेका हुन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ पिप्रहवामा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैतिहार लक्षित ३२१ वटा खसीबोका विक्री गरेको अध्यक्ष साइजहाँ खाँले जानकारी दिइन् । उनका अनुसार उक्त खसीबोका बिक्रीबाट ३ लाख ५१ हजार ५९१ रुपैयाँको कारोबार भएकोछ ।

सहकारीमा कुल ६८६ सेयर सदस्य भएपनि २७५ जनाले मात्रै खसीबोका पालन गर्दै आएकाछन् । सेयर पुँजी ६ लाख भएको बताउँदै हालसम्म १२ लाख १३ हजार ७५० रुपैयाँ बचत रहेको उनले जानकारी दिइन् ।

यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ लालपुरमा रहेको परिर्वतन सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंतिहार लक्षित गर्दै २८५ वटा खसीबोका विक्री गरि ४३ लाख ४३ हजार ८७२ रुपैयाँको कारोबार गरेकोछ । प्रत्येक महिना ५० वटा खसीबोका विक्री गर्ने लक्ष्य लिएको यो सहकारीले साउनदेखि कार्तिक २ गतेसम्म उक्त खसीबोका विक्री गरेको हो ।

अध्यक्ष सुनिता खाँण ठकुरीका अनुसार ८५८ सेयर सदस्य भएपनि ३५० जनाले मात्र खसीबोका पालन गर्दै आएको र हाल सहकारीको सेयरपुँजी २३ लाख ८ हजार रहेको जानकारी दिइन् ।

यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ टेपरी स्थित नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले २०१ खसीबोका विक्री गरि १६ लाख ६७ हजार ४६५ रुपैयाँ भित्र्याएको छ ।

सहकारीकी अध्यक्ष गंगा चन्दका अनुसार एक हजार २६ जना सेयर सदस्य रहेका उक्त सहकारीमा ७१७ जनाले मात्र खसीबोका पालन गरिरहेका छन् । अध्यक्ष चन्दले हालसम्म एक करोड ५४ लाख २ हजार ३८२ रुपैयाँ बचत रहेको जानकारी दिदै अगाडी भनिन–‘५ रुपैयाँ बचत गरि सुरु गरिएको सहकारीमा आबद्ध महिला दिदीबहिनीको महेनत र लगावका कारण यो सफलता प्राप्त भएको हो ।’

‘वर्षभरिमा हाम्रो खसीबोकाको बढी व्यापार दशैँ तिहारमा हुन्छ’, शाहले भनिन्, ‘गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत बजारीकरण गरिन्छ, कूल खसीबोकाको कारोबारमध्ये आधा कारोबार दशैँतिहार लक्षित हुने गरेको छ ।’

दशैँ तिहार भित्रिएसँगै अहिले किसानकै घरमा ब्यापारी पुगेर धमाधम खसीबोका बिक्रीका भइरहेको परिर्वतन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी ब्यवस्थापक पम्फा परियारले बताइन् । उनका अनुसार आफूले उत्पादन गर्दै आएको खसीबोका सहकारीमार्फत घरआगँनबाटै विक्री हुदाँ किसानलाई सहज भएकोछ ।

सहकारीमा आबद्ध महिलाहरुले उत्पादन गरेको खसीबोकाको बजारीकरण, सहकारी ब्यवस्थापन र वित्तिय कार्यमा सहयोग गर्दै आएको भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) संयोजक रामराज कठायतले तीन सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत बिक्री गरिँदै आएको जानकारी दिए ।

उनले भने तीन वटै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी ४८०–५१० रुपैयाँमा सङ्कलन गर्ने र उक्त मूल्यमा १० रुपैयाँ बढाएर बिक्री गर्ने गरेका छन् । प्रतिकिलो जम्मा १० रुपैयाँ बढी लिएर सदस्यहरुका उत्पादन सङ्कलन गरी बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको कार्यक्रम संयोजक कठायतले बताए ।

उनका अनुसार हेफर इन्टरनेशनल र बी–ग्रुपको साझेदारीमा सञ्चालित पशु वस्तुको मूल्य श्रृङ्खलामा आधारित साना किसनहरुको संस्था सवलिकरण परियोजना अन्र्तगत किसान र सहकारीबीच समन्वय गरिदै आएकोछ ।

उनकाअनुसार भारतीय खसीको तुलनामा यहाँ उत्पादन भएका खसीबोका गुणस्तरीय भएकाले यसको माग बढ्दो छ । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा बृद्धि भएको छ । उनले अगाडी थपे–‘महिला समूहमा आबद्ध दिदीबहिनीले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् । यसले उहाँहरुको आयआर्जनमा सहयोग पु¥याएको छ ।’

सोही परियोजना अन्र्तगत राप्तीसोनारी गाउँपालिकाका १०, खजुरा र बैजनाथ गाउँपालिकामा दुई–दुई र जानकी गाउँपालिका १ गरि १५ वटा महिलाहरुको सहकारीमार्फत खसीबोका विक्री वितरण गरिदै आएकोछ ।