नयाँ पाठ्यक्रम अनुसार पढाउन निर्देशन
नेपालगन्ज : आउँदो शैक्षिक शत्रदेखि कक्षा ११ र १२ मा फिल्म र डकुमेन्ट्री पढाइ हुने भएको छ । चलचित्र विकास बोर्डको पहलमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रममा फिल्म र डकुमेन्ट्री समावेश गरेपछि फिल्म र डकुमेन्ट्री पढन पाउने भएकाछन् ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार आउँदो शैक्षिक शत्रबाट कक्षा ११ र १२ का विद्यार्थीले फिल्म र डकुमेन्ट्री पढ्न पाउने छन् । यद्यपि अनिवार्य विषयका रुपमा भने समावेश गरिएको होइन । ऐच्छिक विषयका रुपमा समावेश गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएकोछ ।
पाठ्यक्रम विकास केन्द्रले अहिले पाठ्यक्रम निर्माण गरिरहेको छ । पाठ्यक्रमको ड्राफ्ट ओस्कार इन्टरनेसनल कलेजका प्रिन्सिपल तथा चलचित्र निर्देशक विनोद पौडेलले तयार पारेर केन्द्रलाई बुझाएका थिए । ११ र १२ कक्षामा १००/१०० पूर्णाकको पाठ्यक्रम डिजाइन गरिएको छ । आधा थ्योरी र आधा प्राक्टिकल पाठ्यक्रम डिजाइन गरिएको छ ।
कक्षा ११ र १२ मा लागु गरिसकेपछि त्योभन्दा तलका कक्षामा पढाउन उपयुक्त हुन्छ अथवा हुँदैन मूल्यांकन गरेर अगाडि बढ्न सकिने तयारीमा पाठ्यक्रम रहेकोछ ।
यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन निर्देशन दिएको छ । कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि मन्त्रालयले निर्देशन जारी गर्नु परेको मन्त्रालयले जनाएकोछ ।
‘कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले कक्षाको स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोही अनुसार विद्यार्थीको मुल्यांकन गर्ने व्यवस्था गर्नसमेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ’, मन्त्रालयले भनेको छ ।
अभिभावक तथा विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढाइ हुने निश्चित भएपछि मात्रै भर्ना गर्न र गराउन मन्त्रालयले आग्रह गरेको छ । पाठ्यक्रम लागु भए–नभएको अनुगमन गर्न भने सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।