डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य तिब्र रुपमा अघि बढेको छ । भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधीमा २५ प्रतिशत निमार्ण कार्य पुरा भएको छ । कोरोना संक्रमणको महामारी र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निमार्ण सामाग्री अभावका बेला पनि निमार्ण कार्य तिब्र रुपमा अघि बढेको हो ।
यसैबीच, भवन निमार्णको कार्यप्रगतिका बारेमा मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले भवनको निमार्णको गुणस्तरियता, बाउण्ड्री, शौचालय, बहुउद्देशीय सभा हलको डिजाइन, भवनको कोठा लगायतका बारेमा प्राविधिक टोलीसंग जानकारी लिई थप सरसल्लाह दिए । उनले बाँके जिल्लामै पहिलो पटक डुडुवाले भवन निमार्ण गर्न लागेकाले समयमा निमार्ण कार्य सम्पन्न पुरा गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । अध्यक्ष चौधरीले छिट्टै भवन निमार्णको कार्य सम्पन्न भएमा कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढने विश्वास व्यक्त गरे ।
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव लगायत कर्मचारी र प्राविधिकहरुको सहभागिता रहेको थियो ।
भवन निमार्णको यसरी नै बेला बेलामा अनुगमन भएमा हामीलाई पनि कार्य गर्नमा सहजता तथा उत्साह थप्ने बताउदै निमार्ण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले भने–‘अहिलेको प्रगति अनुसार अघि बढेमा ६ महिना अगावै निमार्ण कार्य सम्पन्न गरि हस्तान्तरण गर्न सकिन्छ, त्यसै अनुरुप अहिलेलाई तिब्र रुपमा काम गरिरहेका छौ ।’ उनले अहिले जटिल परिस्थीतीमा पनि हामीले निमार्ण कार्य नरोकी निरन्तर अघि बढाइरहेको भन्दै निमार्ण सामाग्रीका लागि खोला खुलेपछि अझ सहज हुने बताए ।
अत्याधुनिक प्रविधीबाट निमार्ण हुने सुविधा सम्पन्न भवनको तीन महिना अघि मात्र गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गरेका थिए । गाउँपालिका केन्द्र रहेको वडा नम्बर ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १० करोड २२ लाख १६ हजार ६१२ को लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण भईरहेको छ । चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देशीय सभा हल, सानो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्ड रुम र लिफ्ट सहितको भवन निमार्ण हुने प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए ।
उनका अनुसार रोयल कन्सट्रक्सन कैलालीले भवन निमार्णको ठेक्का सम्झौता गरेको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ । भवन निमार्णका लागि संघीय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाकी रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नम्बर ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।