कोरोना संक्रमित विद्यार्थीले पनि कक्षा १२ को परीक्षा दिन पाउने


कोरोना संक्रमित विद्यार्थीले पनि कक्षा १२ को परीक्षा दिन पाउने

नेपालगन्ज : देशमा कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला कक्षा १२ को परीक्षा हुने भएकोछ । कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकोछ ।

कोारनोका कारण स्थगित भएको परीक्षा सञ्चालनका लागि बोर्डले तालिका र कार्यविधि तयार गरिसकेकोछ । जस अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा आगामी मंसिर १२ गते शुक्रबार विहान ८ बजे शुरु हुनेछ । शनिबार समेत परीक्षा सञ्चालन गरेर मंसिर १६ गते मङ्गलबार सम्ममा सबै विषयको परीक्षा सम्पन्न हुनेछ ।

यसैबीच बोर्डले कोरोना संक्रमित विद्यार्थीलाई परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । यद्यपी कोरोना संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

कोरोना संक्रमित भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अनुरोध गरेको बोर्डले संक्रमित परीक्षार्थीहरूका लागि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएको ल्याब रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने जनाएकोछ ।

कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था समेत गरिएकोछ । बोर्डले गत भदौमा कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित असहज परिस्थितीका कारण जिल्ला बाहिर तथा घरमै परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई बोर्डले परीक्षा लिने निर्णय गरेसगैं तनावमा रहेकाछन् । लामोसमयदेखि बन्द रहेको देशभरका शैक्षिक संस्थाका कारण लाखौं विद्यार्थीलाई चाडबाडसगैं कोरोनाको कहरमा परीक्षाको तयारी गर्नुपर्ने बाध्यता रहेकोछ ।