बनियाँ गाउँ झडप

धनिरामको शव परिवारले बुझेन, १४ जना प्रहरी नियन्त्रणमा


धनिरामको शव  परिवारले बुझेन, १४ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५, बनियाँ गाउँमा सोमबार बेलुका ५ बजे भएको झडपमा परि मृत्यु भएका धनिराम यादवको शव परिवारले बुझ्न मानेको छैन ।

टाउकोमा गम्भीर चोट लागेका धनिरामको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको थियो । धनिरामको मृत्यु भएपछि उनको परिवार यतिबेला शोक र बदलाको आक्रोसमा रहेकाछन् ।
मृत्यु भएका धनिरामको शव परिवारले बुझ्न नमानेपछि सोमबार रातीदेखि उनको शव मेडिकल कलेजको शव कक्षमा राखिएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एबम प्रहरी नायव उपरीक्षक सुवास खड्काको नेतृत्वमा रातभरी बनियाँ गाउँमा प्रहरीले पहरा दिएको थियो । ठूलो संख्यामा उपस्थित प्रहरीले थप हुनसक्ने दुर्घटना न्यूनिकरणमा उच्च निगरानी राखेको थियो ।

यसबीच प्रहरीले उक्त घटनामा संलग्न भएको आशंकामा १४ जनालाई नियन्त्रणमा लिइसकेकोछ । यद्यपी ११ जनालाई सोमबार राती नै प्रहरीले पक्राउ गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक खड्काका अनुसार घटनाको सुक्ष्मरुपमा अनुसन्धान भइरहेको बताउदै उनले भने–‘यतिबेला बनियाँ गाउँ प्रहरीको नियन्त्रणमा छ । पक्राउ परेका ब्यक्तिमाथि अनुसन्धान भइरहेको छ यद्यपी झगडामा प्रत्येक्ष संलग्न ब्यक्ति को थिए, विवादको मुद्दा के थियो लगायतका विषयमा केही खुल्न सकेको छैन ।

हालसम्म घटनामा परि ९ जना घाईते भएको प्रहरीको अनुसन्धानले खुलाएको छ । जसमध्ये केही सामान्य उपचारपछि घर फर्केकाछन् ।

सोमबार भएको उक्त झडपमा परि स्थानीय २४ वर्षिय पवन काँदू, अन्दाजी ५०–५५ वर्षिय महिला कुन्ना खटिक, अन्दाजी ३५ वर्षिय रामनरेश गुप्ता लगायतका ब्यक्ति घाइते भएका थिए । उनीहरु सबैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएको थियो भने केहीको उपचार भइरहेकोछ ।

झडप लगत्तै घटना स्थल पुगेको प्रहरीले भीड नियन्त्रण र माहोल शान्त पार्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायब उरीक्षक सुवास खड्काको नेतृत्वमा एक सय प्रहरी तथा २५ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले सेतोखरीसंग कुरा गर्दै भने–‘दुई समुहबीच भएको झडप यतिबेला प्रहरीको नियन्त्रणमा रहेको छ । घटनामा संलग्न आशंकामा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ । उनले अगाडी थपे दोषी पाइएका कुनै पनि ब्यक्तिलाई कानूनी दायरामा ल्याई कारबाही गरिनेछ ।