काठमाडौं। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीसँगसँगै खोज,उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै सरकारका तर्फबाट उनिहरूलाई ढाडस दिएका छन्। आफ्नै संगठनका सहकर्मीहरू, परिवारका सदस्यहरू गुमाउँदा पनि अहोरात्र सेवामा खटिएको भन्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीहरूले विपदका बेला देखाएको साहसलाई अद्भूत भनेका छन्।
‘तपाईंहरू बस्ने ब्यारेक र कार्यालय लेदोमै छ, पहुँचमार्ग अस्तित्वमै छैन। खानेपानीको व्यवस्था बिथोलिएको छ। खेतको आलीलाई बाटो बनाउँदै आफैँ टाढाबाट पानी बोकेर कैदीबन्दीहरूलाई खुवाउने, बाटो खुलाउने र उच्च मनोबलका साथ ड्युटीमा उभिने हाम्रा सुरक्षाकर्मीहरूको यो साहस अद्भुत छ। यो त एक उदाहरण हो। यो विपद्मा हाम्रा सुरक्षाकर्मीहरूले कैयौँ उदारहणीय काम गर्नु भएको छ’ बालेनले भनेका छन्।
बाढीपछि हरेक दिन आम नागरिकलाई सम्बोधन गरेर सामाजिक सञ्जालमा सन्देश लेख्दै आएका प्रधानमन्त्रीले आइतबारको सन्देशमा सुरक्षाकर्मीहरूलाई सम्झिएका हुन्।
‘कठिन भूगोल छ। प्रतिकूल मौसम छ। तर, हाम्रा सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ। तपाईंहरूले प्रभावितहरुको पीडा गहिरोसँग बुझ्नुभएको छ। बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसहरुको संख्या ठूलो छ। त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ’ उनले भनेका छन् ‘हामीलाई थाहा छ तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुनुहुन्छ। बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ। यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ। सकिनसकी शव उठाइरहनुभएको छ। होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ। अझै पनि बाढी आउन सक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ।’
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका सबै निकायलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उनिहरूको यो योगदान र समर्पणलाई राष्ट्रले कहिल्यै नभुल्ने पनि बताएका छन्।
‘तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरुले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन’ उनले भनेका छन् ‘संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं। संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौं।’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै