विप्लव समूह हिंसात्मक बन्यो, निगरानी बढाउन प्रधानसेनापति थापाको निर्देशन


विप्लव समूह हिंसात्मक बन्यो, निगरानी बढाउन प्रधानसेनापति थापाको निर्देशन

काठमाण्डौं : नेपाली सेनाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै निगरानी बढाउन निर्देशन दिएकोछ । सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले विप्लव समूहले मोरङमा एक जना निहत्था नागरिकको हत्या गरेपछि निगरानी बढाउन भन्दै सैनिकहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

सेनाको कात्तिक पहिलो साता भएको पृतनापति सम्मेलनले पनि विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौतिका रुपमा विश्लेषण गर्दै गतिविधि बढाउनसक्ने भनेको थियो ।
व्यक्ति हत्या, जनसरकार घोषणा, विष्फोटन जस्ता गतिविधिलाई बढाउन थालेपछि समूहले हिंसा र आतंक र्सिजनालाई बढाउन खोजेको देखिएकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न सुक्ष्म निगरानी थाल्न प्रधानसेनापति थापाको निर्देशन छ ।

‘गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहनू’, थापाले भनेका छन्, ‘सबै परिस्थितिहरुमा स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपालको संविधान एवं प्रचलित ऐन, नियम अनुसार सबै प्रकारको सहयोग गर्न सक्ने गरी तयारी अवस्थामा रहनू ।’

सेनापती थापाले असन्तुष्ट समूह आपराधिक क्रियाकलापमा संलग्न भएर समाजमा हिंसा र आतंक सिर्जना गर्दै जानसक्ने अवस्थाप्रति सजग रहन भनेका छन् । साथै, उनले स्थानीय स्तरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतसँग समन्वय गरी शान्ति, सुरक्षा र स्थिरता कायम राख्न तयारी हालतमा रहन पनि भनेका छन् ।

यस्तै सेनापति थापाले हिउँदामा कोभिड–१९ भाइरसको संक्रमण थप बढ्न सक्ने सम्भावनासमेत भएकाले सुरक्षा मापदण्ड पालना गर्दै सामुन्नेमा आउने परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न पनि निर्देशन दिएका छन् ।

नेपाली सेनाले आधुनिक र पेशेवर सेनाको रुपमा विकास गर्ने आधारहरु तयार गरिसकेको उल्लेख गर्दै प्रधानसेनापति थापाले संगठनमा स्थापित हुँदै गएका पद्दती र प्रणालीलाई अझ सबल, मजबुत र नियमित बनाउन सबैले आ–आफ्नो नियुक्तिको जिम्मेवारी पूर्ण ईमान्दार र वफादार भई निभाउनु पर्नेमा पनि जोड दिएका छन् । यसैबीच सेनापती थापा देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थालेका छन् ।