बन्दाबन्दीमै बाँकेका ८० जना हराए


बन्दाबन्दीमै बाँकेका ८० जना हराए

वार्षिक घटना विवरणबारे जानकारी दिदै माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइराला । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच बाँकेबाट एक वर्षमा ८० जना महिला तथा बालबालिका हराएको तथ्य बाहिरीएकोछ । माईती नेपाल नेपालगन्ज संयोजक केशव कोइरालाका अनुसार कोरोना भाइरस संक्रमणकाबीच बाँकेका विभिन्न स्थानबाट ८० जना महिला तथा बालबालिका हराएका हुन् ।

बाँकेको कोहलपुरका २३ जना, नेपालगन्ज उपमहानगरपालिका १७ जना, राप्तीसोनारीका ४ जना, खजुराका १५ जना, बैजनाथका १३ जना, जानकीका ५ जना र डुडुवाका ३ जना हराएका छन् ।

माईती नेपालले बिहीबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बेल्दै संयोजक कोइरालाले यस्तो बताएका हुन् । उनका अनुसार कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारत सीमा बन्द हुदाँ पनि विभिन्न नाकाबाट महिला तथा बालबालिका हराएका छन् ।

यसरी हराउने महिला तथा बालबालिकाहरु अन्य जिल्ला भन्दा बाँके जिल्लामा बढि रहेको उनले बताए । उनका अनुसार गत वर्षभन्दा खोजतलासको निवेदन कम परेता पनि बाँके जिल्लाकै सबैभन्दा बढि रहेको छ । माइतीका अनुसार खोजतलासका लागि गत वर्ष कुल ८ सय ६९ निवेदन आएकोमा यो वर्ष २ सय ९२ वटा मात्र निवेदन परेको जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

हराएका महिला तथा बालबालिका खोजतलासका लागि बर्दियाका ३५ जना, सुर्खेतका ४० जना, दाङका २५ जना, सल्यानका २२ जना, हुम्लाका २ जना, मुगुका ५ जना, रोल्पाका ७ जना, दैलेखका १८ जना, जुम्लाका १० जना, जाजरकोटका १७ जना, कालिकोटका ७ जना र रुकुमका ९ जना हराएका छन् ।

यस्तै काठमाण्डौंका २ जना, कैलालीका २ जना, नवलपरासीका २ जना, अछामका ४ जना हराएकाछन् । यसैगरि बझाङ, चितवन, कास्की, दोलखा, धनकुट्टाका एकएक जनाको निवेदन परेको माइतीका संयोजक कोइरालाले जानकारी दिए ।

२२ जिल्लाका १८ वर्ष मुनिका बालिका १०५ जना, १८ वर्ष मुनिका बालक ६१ जना तथा १८ वर्षभन्दा माथिका १२६ जना हराएको निवेदन परेकोछ । यसरी हराउनेमा सबैभन्दाबढि ब्राह्मण÷क्षेत्री समुदायका १३८ जना, जनजाती समुदायका ५४ जना, दलित समुदायका ९० र आदिवासी समुदायका १० जना महिला तथा बालबालिका रहेकाछन् ।

उनका अनुसार एक वर्षमा परेको कुल २ सय ९२ निवेदनमध्ये एक सय ३० जना फेला परेको र एक सय ६२ जनाको खोजविन भइरहेको छ । जसमध्ये बन्दाबन्दीकै अवधिमा एक सय ३१ जना हराएको निवेदन परेको कोइरालाले जानकारी दिए ।

खोजतलासको निवेदनमध्ये बाँकेका ८० मध्ये ६ जना, बर्दिया, दाङ, सल्यान र काठमाण्डौंका एक/एक जना तथा दैलेखका २ जना मात्र फेला परेकाछन् । जसमा १८ वर्षमुनिका ९ जना बालिका, १८ वर्षमाथिका ३ जना रहेकाछन् ।

माइतीका अनुसार गत वर्ष बाँकेको नेपाल–भारत सीमानाकाबाट जोखिमपूर्ण यात्रामा रही सीमानाकाबाट उद्धार गरिएका संख्या ८ सय ९६ रहेको छ । भने यस वर्ष जम्मा २६७ जनालाई उद्धार गरिएकोछ । यस्तै यसवर्ष श्रम र यौन शोषणमा परि गरिएका संख्या गत वर्ष भन्दा बढि रहेको छ । गत वर्ष जम्मा ७ जना रहेकोमा यस वर्ष १२ जनालाई उद्धार गरिएकोछ ।

मानव तस्करले अपनाउने नयाँ–नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको उनले बताए । सामाजिक सञ्जाल फेसबुक, इमो, ह्रवाट्सएप, भाइबर, मेसेन्जरलगायतको दुरूपयोग गरी मानव दलालले आफ्नो सम्पर्क संयन्त्रलाई सहज बनाउँदै गएको माईती नेपालका नेपालगन्ज संयोजक कोइराला बताउँछन् ।

उनकाअनुसार आधुनिकताको नाममा विलासिताप्रतिको बढ्दो आकर्षणले पनि महिला तथा बालबालिका हराउने, बेचिने र यौन शोषणमा पर्ने गरेका छन् । घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती रहेको देखिएको उनी बताउँछन् ।

आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् । खुला सीमा नाकाले बेचबेखिनको उच्च जोखिम बढेको छ । भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढ्दै गएको छ । मानव तस्करले महिला र बालबालिका बेचबिखनमा नयाँनयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको देखिएको छ ।

माइती नेपालले हरेक वर्ष ३१ डिसेम्बरका दिन पत्रकार सम्मेलन गरि वर्षभरी भए गरेका गतिविधि तथा तथ्यांक सार्वजनिक गर्दै आएकोछ । विशेषगरि सीमावर्ती क्षेत्रमा रही जोखिमपूर्ण यात्रामा जाने महिला, बालबालिकालाई पहिचान गरि उनीहरुलाई परामर्श गरि फिर्ता पठाउने गर्दछ । यसरी फिर्ता पठाइएका महिला बालबालिकालाई पारिवारिक पुर्नमिलन गराइने गरिन्छ ।