सार्वजनिक शौचालयमा ताला, कुनाकानी खोज्दै बटुवा


सार्वजनिक शौचालयमा ताला, कुनाकानी खोज्दै बटुवा

नेपालगन्ज १० माघ : नेपालगन्ज उपमहानगरपालिकाले लाखौं खर्चेर बनाएको आधुनिक सार्वजनिक शौचालयमा यतिबेला ताला लागेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, रामलीला मैदान नजिक रहेको मासुमण्डी छेउमा बनाइएको आधुनिक सार्वजनिक शौचालयमा ताला लाग्दा सर्वसाधरणले सास्ती भोग्नु परेकोछ ।

उक्त शौचालय प्रयोगविहीन हुदैँ गएपछि ताला मात्र लगाइएको छैन गोदाम घर बन्न पुगेको हो । जसका कारण सर्वसाधारण खुल्ला ठाउँमा शौच गर्न बाध्य भएकाछन् ।
सार्वजनिक शौचालयको समुचितरुपमा प्रयोग र यसको प्रभावकारिताका विषयमा नेपालगन्ज नगरपालिकाले लापरबाही गरेपछि लाखौं रुपैयाँमा निर्मित यस्ता सार्वजनिक संरचना प्रयोगविहिन हुदैँ गएकोछ ।

आधुनिक शौचालय निर्माण भएसंगै नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाले एक कार्यक्रमकाबीच शौचालयको उद्घाटन समेत गरेका थिए । उनले सो बखत सार्वजनिक शौचालयका विषयमा गम्भीर भएको बताउँदै सर्वसुलभ र प्रभावकारी शौचालय व्यवस्थापनमा उपमहानगरपालिका प्रयासरत रहेको बताएका थिए ।

शौचालयको प्रयोग र ब्यवस्थापनका लागि भन्दै उपमहानगरले मासुमण्डीका एक मासु ब्यवसायीलाई सञ्चालनका लागि भाडामा समेत दिएकाको थियो । तर, ती ब्यवसायीले यतीबेला शौचालयमा ताला लगाएका छन् भने आफ्ना नीजि कामका लागि शौचालयमा सामान भण्डारण गरि गोदाम घर बनाएका छन् । उनले शौचालय भित्र खसी, बोका, मासु काट्ने सामग्री, बोरा, साइकल लगायतका सामान शौचालय ठेक्का लिएका ब्यक्तिले राख्ने गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सार्वजनिक शौचालयमा ताला लगाएपछि सो क्षेत्र भएर हिड्ने बटुवा शौच लाग्यो भने कुनाकानी, पर्खाल अनि अब्यवस्थितरुपमा पार्क गरिएका गाडीको आड लिदैं शौच गर्न बाध्य छन् । यो सौन्दर्यताले यतिबेला नेपालगन्जको सिंगो प्रशासनलाई गिज्याइरहेकोछ ।

ब्यवस्थित र सफा नगरको परिकल्पना बोकेको नेपालगन्ज उपमहानगरपालिकाको लाज छोपिएको छैन । यस्तो दृष्यले आम सर्वसाधरणलाई सास्ती भएकोछ । सार्वजनिक विदा बाहेकका अरुदिन सो क्षेत्रमा रहेका ब्यवसायीहरु तथा बटुवा शौच गर्नका लागि नजिकै रहेको नापी कार्यालय तथा सहकारी कार्यालयको शौचालयमा सुटुक्क छिर्ने गर्छन् ।

उक्त सार्वजनिक शौचालय सञ्चालनको जिम्मा लिएका ती मासु ब्यवसायीले महिला र पुरुष दुवैतर्फको शौचालयमा दिनभर ताला लगाउने गरेका छन् । ब्यवसाय गर्नुपर्ने भएकोले शौचालयमा ताला लगाउने गरेको उनी बताउँछन् । ‘शौचालय गर्न कतिखेर आउँछन भन्दै दिनभर कुरेर बस्न नसकिने भएकाले ताला लगाउन बाध्य भएको’ ति ब्यापारीले निर्धक्कसँग भने ।

शौचालयमा ताला लागेपछि सर्वसाधारण खुल्ला ठाउँमा शौच गर्न बाध्य भएका छन् । शौच गर्नका लागि बनाइएको शौचालयमा ताला लगाइएपछि खुल्ला ठाउँमा शौच गर्दै आएका त्यहाँका ब्यापारीले दुखेसो पोखे ।

नजिकै शौचालय छ, तर सधैँ बन्द हुन्छ । शौच गर्नका लागि पो शौचालय बनाइएको होला । बन्द गरेर राख्नका लागि त होइन होला । केही भनौं उनले ब्यक्तिगत रिसिबी राख्छन् । नभनौं शौचालय भएर पनि प्रयोग गर्न पाएका छैनौं । मासु ब्यापारीले बताए ।

यो त एउटा प्रतिनिधी घटना मात्र हो । नेपालगन्जको धम्बोझी चोक राष्ट्र बैंक र कृषि विकास बैंकको बिचमा बनाइएको नेपलाकै पहिलो अत्याधुनिक शौचालय समेत प्रयोगमा आउन सकेको छैन । प्रयोग विहीन बन्दै गएको यो शौचालय समेत जिर्ण बन्दै गएकोछ ।

यकातिर बाँके खुल्ला दिशामुक्त घोषणा भईसकेको छ । तर, नगरपालिकाभित्रै प्रयाप्त सार्वजनिक शौचालय नभएको आवाज उठिरहदाँ लाखौं रुपैयाँ खर्चेर बनाइएका यस्ता शौचालयमा ठेकेदार र नगरपालिकाको उदासिनताले आम सर्वसाधरणको शौचालयमा पहुँच हुनसकेको छैन ।

यो त उदाहरण मात्र हो उपमहनागरपालिका क्षेत्रमै यस्तो अवस्था विभिन्न वडामा रहेको छ । घरमा शौचालय बनाएका बाँकेका अधिकांश नागरिक शौचालय प्रयोगका बारेमा अझैंपनि अनभिज्ञ छन् । कतिपय शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । कतिपय घरधुरीमा त शौचालय हेर्दा ‘स्टोर रूम’ जस्तै छन् । कतिपय शौचालय जीर्ण छन् । मर्मतसम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ ।

बाँकेलाई खुल्ला दिशा मुक्त घोषणा गर्ने होडबाजीमा केही सरकारी तथा गैरसरकारी संस्थाले शौचालय बनाएका थिए । तर, यसरी बनाईएका शौचालय प्रयोगमा छन कि छैनन्, यसको सदुपयोग भयो/भएन भनी अहिलेसम्म कसैलेपनि अनुगमन गर्न र बुझ्न नसकेको स्थानीय बताउँछन् । यद्यपी, जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवाला कुनैपनि निकायले अहिलेसम्म यस्ता शौचालयको अनुगमन गर्न चासो देखाएका छैनन् ।