कोरोनाको दोस्रो लहर : भारतबाट नेपाल फर्किनेको संख्या ह्वात्तै बढ्यो

नेपालगन्ज भन्सार हुदैँ १४ हजार नेपाली भित्रिए, स्वास्थ्य जाँच गरिएन


कोरोनाको दोस्रो लहर : भारतबाट नेपाल फर्किनेको संख्या ह्वात्तै बढ्यो

File Photo

नेपालगन्ज ९ चैत : छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण दर बढेपछि भारतमा रहेका नेपालीहरु धमाधम नेपाल भित्रिन थालेका छन् ।

भारतबाट आउने मानिसबाट पहिलो लहर फैलिए झैं दोस्रो लहर पनि फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेकोछ ।

भारतका विभिन्न स्थानमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसंगै भारतीय सीमासंग जोडिएका बाँके–बर्दिया लगायतका जिल्लामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको छ ।

भारतका केही प्रदेशमा पुनः लकडाउन हुन थालेपछि रोजगारमा रहेका नेपालीहरु पुनः स्वदेश फर्कन लागेका हुन् । स्वदेश फर्कन लागेपछि दोस्रो चरणको कोरोनाको जोखिम बढेको भन्दै हिजो आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचाना जारी गर्दै स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीका अनुसार भारतमा कोरोनाको दोस्रो लहर देखिएसंगै नेपाल आउने नेपालीको संख्या बढेर आएको छ ।

‘कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भारतका विभिन्न प्रदेशमा रोजगारी, ब्यवसाय, अध्ययनका लागि गएकाहरु नेपाल फर्किने क्रम बढ्दोछ ।’ प्रहरी नायब निरीक्षक गिरीले भने–‘फागुन महिनामा मात्रै १४ हजार नेपाली नेपाल आएका थिए । भने सो अवधिमा १२ हजार नेपाली भारत गएका थिए ।’

सेतोखरीसंग कुरा गर्दै प्रहरी नायब निरीक्षक गिरीले भने भारतमा पुनः दोस्रो चरणको कोरोना लहर फैलिएपछि चैतको पहिलो साता (चैत ८ गते) सम्म मात्रै ४ हजार ५ सय जना नेपाल भित्रिएका छन् । यो दर पछिल्लो दुईदिनदेखि बढेर आएकोछ । उनले भने यही अवधिमा नेपालबाट ४ हजार ३ सय भारत गएका छन् ।

यसरी भारतबाट नेपाल भित्रिएका नेपाली निर्वाधरुपमा पैदल, रिक्सा, अटो, माइक्रो बस चढेर धमाधम आफ्नो गन्तब्यमा पुगिरहेकाछन् । उनीहरुको स्वास्थ्य जाँच समेत गरिएको छैन ।

सरकारले भारतबाट आउनेलाई १० दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएको भारतबाट नेपाल आएका नेपालीहरु निर्वाधरुपमा गन्तब्यमा पुगिरहेकाछन् । यसरी भारतबाट आउने मानिसबाट पहिलो लहर फैलिए झंै दोस्रो लहर पनि फैलिने जोखिम बढेर आएकोछ ।

यसअघि कोरोनाको जोखिम बढ्दा सीमामा राखिएको हेल्थ डेस्क र होल्डिङ सेन्टर समेत सञ्चालनका लागि बाँके प्रशासनले कुनै चासो दिएको छैन ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका प्रमुख एबम प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार कोभिड–१९ रोकथामका लागि केही पनि नगरेको बताए ।

उनले सेतोखरीसंग कुरा गर्दै भने –‘हामी ‘पर्ख र हेर’ मा छौं । अन्यत्र केही पनि गरिएको खबर छैन । हामीलाई गृह र सीसीएमसीबाट पत्र आएको छैन । त्यसैले पर्ख र हेरमा छौं ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले यस्तो बताइरहदाँ छिमेकी जिल्ला बर्दियामा कोभिड–१९ रोकथाम क्रियाकलाप अघि बढाएकोछ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका फोकल पर्शन नरेश श्रेष्ठका अनुसार बर्दिया जिल्लामा भारतबाट नेपाल आउने विभिन्न बिन्दू पहिचान गरि सो स्थानमा हेल्थ डेस्क स्थापनाको अनुगमन गरिएको छ ।

नेपाल भित्रिनेको संख्या बढेर आएपछि यतिबेला नेपाल–भारत दुवैदेशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा आउजाउ कडाइ गरिरहेकोछ । प्रहरी नायब निरीक्षक गिरीले भने –‘सीमामा भिडभाड हुन नदिन र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै माक्स विना जान र आउ दिएका छैनौं ।’

उनका अनुसार भारतीय सुरक्षाकर्मीले समेत यतिबेला सीमामा कडाई गरेपछि दुताबासको परमिट भएका सावरी साधन समेत जान र आउन दिएका छैन ।

कोरोनाको जोखिम बढेसंगै यतिबेला घरयासी सामान खरिदका लागि समेत सीमावर्ती बजार रुपैडिहा जान कडाई गरिरहेको छ । साईकल, मोटरसाईकल, रिक्सा र चार पाङ्ग्रे सवारी साधन पूर्णरुपमा बन्देज गरिएकोछ । जटिल र गम्भीर प्रकृतिबाहेक अन्यलाई सवारी साधन लगरे आउन र जान दिइएकोछैन ।

यसैबीच सुदूरपश्चिममा आईतबार भारतबाट फर्केर गड्डाचौकी नाकाबाट प्रवेश गरिरहेका एक जनामा कोरोना पुष्टि भएको थियो । नाकामा एन्टिजेन्ट परीक्षण गर्दा बैतडीको दोगडाकेदार गाउँपालिका घर भएका ती युवामा कोरोना पुष्टि भएसंगै अहिले स्वास्थ्यकर्मीको निगरानीमा ‘होम आइसोलेसन’मा राखिएको छ ।

त्यस्तै स्वास्थ्य निर्देशनालय दीपायलले सुदूरपश्चिमका चार वटा जिल्ला स्वास्थ्य कार्यालयलाई नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याउन पत्र समेत पठाएको छ ।