नेपालमा क्षयरोगबाट दिनहुँ ४७ जनाको मृत्यु, बाँकेमा ८ महिनामा २० जनाले ज्यान गुमाए


नेपालमा क्षयरोगबाट दिनहुँ ४७ जनाको मृत्यु, बाँकेमा ८ महिनामा २० जनाले ज्यान गुमाए

नेपालगन्ज १० चैतः नेपालमा क्षयरोगका कारण दिनहुँ ४७ जना विरामीको मृत्यु हुने गरेको तथ्यांक बाहिर आएको छ ।

सरकारले आगामी सन् २०५० सम्म नेपाललाई क्षयरोग निवारण गर्ने लक्ष्यका साथ अघि बढेको भएपनि क्षयरोगका कारण नेपालमा दिनहुँ ४७ जनाको मृत्यु हुने गरेको पाइएको हो । विश्व क्षयरोग दिवशको पूर्वसन्ध्यामा नेपालगन्जमा आयोजित सरोकारवालासंग अन्तरक्रियामा यो तथ्यांक सार्वजनिक भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीका अनुसार हालै सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्भेक्षणले नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगका विरामी भेटिरहँदा जम्मा ३२ हजारको आँकडाका विरामी उपचारको दायरामा आउने गरेको बताए ।

नेपालीका अनुसार नेपालमा हाल एक लाख १७ हजार क्षयरोगी छन् । पछिल्लो समय यो संख्या बढ्दो क्रममा छ । नेपालमा दिनहुँ ४७ जना क्षयरोगीको मृत्यु भइरहँदा प्रत्येक दिन एक सय ८९ जना नयाँ क्षयरोगी विरामी भेटिने गरेकामा एक सय १ जना हराउने (सम्पर्कमा नआउने) गरेको क्षयरोग सम्बन्धि तथ्यांकले पुष्टि गरेकोछ ।

बाँकेमा ८ महिनामा २० जनाको मृत्यु

Kids Festival 2022
kanti aarogya hospital

चालु आर्थिक वर्षको आठ महिनामा बाँकेमा क्षयरोगबाट २० जनाको मृत्यु भएकोछ । आठ महिनामा बाँकेमा ४ सय ७५ जना विरामी फेला परेकाछन् । यसरी क्षयरोग संक्रमण देखिनेमा जिल्ला मै सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकामा रहेकाछन् ।

चालु वर्षको तथ्यांक अनुसार नेपालगन्जमा ११९ जना, कोहलपुरमा ९१ जना, राप्ती सोनारीमा ४७ जना, बैजनाथमा ५८ जना, खजुरामा ६५ जना, जानकीमा ३३ जना, डुडुवामा ४४ जना र नरैनापुरमा २९ जना क्षयरोगका नयाँ विरामाी फेला परेका छन् ।

गत वर्षको तथ्यांकलाई हेर्दा लुम्बिनी प्रदेशमा बाँके क्षयरोगी बढि हुने तेस्रो स्थानमा रहेकोछ । लुम्बिनीको १२ जिल्ला मध्ये सबैभन्दा बढि रुपन्देहीमा एक हजार एक सय ६३ जना, दाङमा ९ सय १६ जना र बाँकेमा ८ सय ३३ जना क्षयरोगी रहेका छन् ।

नेपालमा कुल जनसंख्याको करिव आधा जनसंख्या क्षयरोगबाट संक्रमित रहेको अनुमान छ । तर, पहिचान गरेर उनीहरुलाई उपचारको पहुँचमा भने ल्याउन नसकिएको सम्बद्ध सरोकारवालाहरुको भनाई छ ।

सरुवा रोगका रुपमा रहेको क्षयरोगका कारण बालबालिकादेखि बृद्धबृद्धासमेत पीडित छन् । बाँकेकै तथ्यांक हेर्ने हो भने चार वर्ष मुनिका ५८ जना बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ । यस्तै ५ वर्षदेखि १४ वर्ष उमेर समूहका २१ बालबालिका क्षयरोगबाट पीडित भएको पाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन नेपालीका अनुसार, जनचेतनाको अभाव, लापरवाही र चेकजाँचका लागि लाज मान्ने भएका कारण क्षयरोगी पहिचानमा समस्यामात्र छैन उनीहरुलाई उपचारको पहुँचमा ल्याउन समेत कठिन भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले क्षयरोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा निःशूल्क उपलब्ध हुने बताए । उनले भने –‘नियमित रुपमा नछुटाई औषधि सेवन गरे क्षयरोग पूर्णरुपमा निको हुन्छ ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले क्षयरोगको रोकथाम, निदान र नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण भएको बताउँदै क्षयरोग निवारणमा अघि बढ्न आग्रह गरे ।

‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ बुधबार विश्व क्षयरोग दिवस मनाइदैछ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षेयरोगलाई जनस्वास्थ्य समस्याको रुपमा घोषणा गरी यसको व्यवस्थापनका लागि नयाँ नीति तथा कार्यक्रमहरुमा जोड दिदै आएको छ ।