अक्सिजनमा मन्त्री र सिडिओहरुको ‘लुछाचुँडी’


अक्सिजनमा मन्त्री र सिडिओहरुको ‘लुछाचुँडी’

बाँकेको परसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्राली । तस्विरः सेतोखरी

नेपालगन्ज २३ वैशाखः कोरोनाका बिरामीको उपचारमा चारैतिर अक्सिजनको अभाव देखिएपछि मन्त्रीदेखि सिडिओसम्म सबैले अक्सिजनको लुछाचुँडी गरिरहेका छन् ।

नेपालमै सबै भन्दा बढी कोरोना महामारीसँग जुझिरहेको बाँके जिल्लामा अक्सिजनको अभावमा बिरामीहरु छट्पटीएर मृत्युवरण गरिरहँदा पनि आफ्नो राजनीति बचाउन मन्त्रीहरुले चर्को दवाव दिएर बाँकेबाटै दैनिक रुपमा सयौं सिलिण्डर अक्सिजन गृह जिल्ला लगिरहेका छन् ।

कसले आफ्नो गृह जिल्लामा अक्सिजन सिलिण्डर लग्ने भन्ने मन्त्री, मुख्य मन्त्रीहरुबिच तछाडमछाड चलिरहेको छ, भने जिल्ला सिडिओहरुबिच पनि त्यस्तै तानातान छ । आपूर्ती मन्त्री लेखराज भट्टले त झन् अक्सिजन सिलिण्डर भरेर गृह जिल्ला कैलाली पठाउनु भन्ने अक्सिजन फ्याक्ट्रिलाई ठाडो निर्देशन दिएका छन् ।

बाँके जिल्लाको परसपुरमा दैनिक १ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लाण्ट रहेको छ । एचओ अक्सिजन इन्डष्ट्रिज प्राली यतिखेर मन्त्री र सिडिओहरुको चर्को दवावमा छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा उत्पादन भइरहेको सयौं सिलिण्डर अक्सिजन मन्त्रीहरु र सिडिओहरुको दवावमा दैनिक बाहिर जानाले यहाँका अस्पतालमा कोरोना बिरामीको उपचारमा समस्या भएको हो । आफ्नो राजनीति बचाउन मन्त्रीहरुले अक्सिजन फ्याक्ट्रीमाथि जर्बजस्त दवाव दिएर गृह जिल्लामा अक्सिजन सिलिण्डर भरेर लगिरहेका छन् ।

यहाँ उत्पादन भएको अक्सिजन बुटवल, गुल्मी, दाङ, सुर्खेत, दैलेख, बर्दिया, धनगढी र टिकापुर दैनिक रुपमा गइरहेको छ ।

बिभिन्न जिल्लाका गरी ठुलो संख्यामा कोरोना बिरामीको उपचार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा हुने गरेको छ । अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेजले कोरोनाका बिरामी भर्ना बुधवारदेखि बन्द गरिसकेको छ । भने उपचारार्थ अन्य बिरामीले पनि प्रयाप्त अक्सिजन नपाउँदा छटपटाउनु परेको छ ।

‘मन्त्री, मुख्य मन्त्री, विभिन्न जिल्लाका सिडिओहरुको फोन आउँछ सिधै भन्नुहुन्छ यति सिलिण्डर अक्सिजन यो जिल्लामा जसरी पनि पठाउनुहोस् ।’ अक्सिजन फ्याक्ट्रिका मालिक महेश तमौलीले सेतोखरीसँग भने ‘हामी दवाव खेप्न सक्दैनौ फ्याक्ट्रिको चावी कहाँ बुझाउने हो बुझाउँछौ । हामी कसलाई हुन्छ भन्ने कसलाई हुँदैन भन्ने ।’

मन्त्री र सिडिओहरुको ठाडो दवावले गर्दा जहाँ अक्सिजन बढी आवश्यकता त्यहाँ कम जाने र जहाँ आवश्यकता कम छ त्याँ अक्सिजन बढी जाने गरेको छ ।

बाँके जिल्लामा मात्रै भेरी अस्पतालमा दैनिक ४ सय सिलिण्डर अक्सिजन खपत छ भने नेपालगन्ज मेडिकल कलेजलाई दैकि ८ सय सिलिण्डर अक्सिजन आवश्यकता पर्छ ।
नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डाक्टर नितेश कनोडियाले दैनिक ८ सय सिलिण्डर अक्सिजन उपलब्ध गराईदिए ३०० बेडको कोभिड–१९ डेडिकेटेड अस्पताल सञ्चालन गर्न सक्ने र धेरै कोरोना बिरामीको ज्यान जोगीन सक्ने बताए ।

उनले भने ‘भेरी अस्पतालले दैनिक ४ सय सिलिण्डर अक्सिजन पाउँछ, अन्य जिल्लामा पनि दैनिक पठाउँछन्, बचेको १५० देखि २०० सिलिण्डर हामीले पाउने हो, त्यसले केही नि पुग्दैन ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बाँकेबाट अक्सिजन बाहिरी जिल्ला गैरहेको स्विकार गरे । सिडिओ गेलालले दवाव थेगिनसक्नु रहेको उल्लेख गर्दै बाहिरी जिल्लाका कतिपय अस्पतालसँग अक्सिजन फ्याक्ट्रिको सम्झौता रहेछ त्यसैले पनि लैजान दिनै पर्ने बाध्यता रहेको बताए । तर, अस्पताल र अक्सिजन फ्याक्ट्रिबिच दैनिक कति परिमाणमा दिने लिने भन्ने सम्झौतामा रहेको छैन ।

यता युवासंघ केन्द्रिय सचिव रविन्द्र लम्सालले बाँकेमा अक्सिजन अभाव भइरहेको बेला यहाँबाट बाहिर अक्सिजन पठाउन नहुने बताए ।

उनले भने ‘अक्सिजन अभावमा विरामी ढलिरहेका छन्, यस्तो अवस्थामा कदापी अक्सिजन बाहिर पठाउनु हुदैन । हामी सबै युवा जागौं, अक्सिजन बाहिर पठाउन रोकौं ।’

थप समाचार पढ्नुहोस्

बाँकेमा अक्सिजन अभाव, भएको अक्सिजन भारत तस्करी, छट्पटीदै बिरामी

मेडिकल कलेजद्वारा सार्वजनिक सूचना जारी, ‘अक्सिजन अभावले कोरोनाका थप विरामी भर्ना लिन सक्दैनौ’